काठमाडौं । नेपाली हिन्दू महिलाको मुख्य पर्व तीजको अघिल्लो दिन आज, दर खाएर मनाइँदैछ । भोलिपल्ट निराहार ब्रत बस्ने भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिकतत्व भएको खानेकुरा खाने चलन रहेको छ ।
विभिन्न मीठा मिठा परिकारका साथ चेलिबेटि बोलाएर दर खुवाउने गरिन्छ । माइतीघर वा आफन्तकहाँ तथा आफ्नै घरमा खिर, हलुवा, ढकनी, घिउ, दही, दूध, मिठाइ, फलफूललगायतका मिठा परिकारलाई दरको रुपमा खाने गर्दछन् ।
दर खाने समय र स्थान भने ठाउँ अनुसार फरक फरक रहेको छ । कतै साँझमा अन्य चीज नखाई दर खाने प्रचलन छ भने कतिपय ठाउँमा पहिला खाना खाएर मध्य रातमा दर खाने गरिन्छ ।