काठमाडौं । नेपालका पहिलो सभामुख हुनुहुन्थ्यो कृष्णप्रसाद भट्टराई । २०१५ सालको आमचुनावमा उहाँ पराजित हुनुभयो । त्यसबेलाको संविधानमा चुनाव हारेकालाई पनि सभामुख बनाउन सकिन्थ्यो । त्यसैले भट्टराई सभामुख बनाइनुभएको थियो ।
०१५ सालमा चुनाव भए पनि प्रतिनिधि सभा बैठक भने ०१६ साल असारमा मात्र राखिएको थियो । तत्कालीन राजा महेन्द्रले सबैभन्दा कुसाइत छानेर असार १६ गते मध्यराति १२ बजे बैठक राखेका थिए ।
नेपालमा संसदीय अभ्याश नयाँ थियो । संसद कसरी चल्छ भन्ने कसैलाई थाहा थिएन । सांसद् र सभामुखको भूमिकाको बारेमा बुझेका मानिस पनि थोरै मात्र थिए ।
कृष्णप्रसाद भट्टराईको अगुवाईमा संसद् अगाडि बढ्यो । त्यसबेला सत्तापक्षका नेता अर्थात् प्रधानमन्त्री हुनुहुन्थ्यो वीपी कोइराला । प्रमुख प्रतिपक्षी भूमिकामा थियो गोरखा परिषद् । भरत शमशेर नेतृत्वको गोरखा परिषद् कांग्रेसको विरोध गर्नलाई नै खुलेको थियो । कट्टर दुश्मनका रुपमा रहेका कांग्रेस र गोरखा परिषद् संसद्मा आमने सामने भए । संसद् अब कसरी अगाडि बढ्छ भन्ने द्धिविधा थियो ।
त्यस्तो बेला कृष्णप्रसाद भट्टराईले निष्पक्ष र तटस्थ भूमिका निर्वाह गर्नुभयो । त्यो संसद् ऐतिहासिक सावित भयो । तर, कांग्रेसको नालायकी र राजा महेन्द्रको दुराशयका कारण संसद्को मात्र नभएर संसदीय व्यवस्थाको समेत गला निमोठियो ।
नेपालका सभामुखहरुको यहाँ किन चर्चा गर्न लागिएको हो भने अहिले सभामुख अग्निप्रसाद सापकोटाको दुर्दान्त भूमिकाका कारण प्रतिनिधि सभा मरणासन्न भएको छ । संसदीय व्यवस्था घाइते भएको छ । यसकारण विगतका सभामुखहरुको चर्चा गर्न परेको हो । नेपालमा सभामुखको आदर्श मानक बनाउने कृष्णप्रसाद भट्टराईकै पार्टी कांग्रेसले अग्निप्रसादलाई काखमा राखेर संसद् र संसदीय परिपाटीको चीरहरण गरिरहेको दर्दनाक दृष्य पनि अहिले नेपाली जनताले हेरेर बस्नुपरेको छ ।
पहिले राम्रा सभामुख, पछि देश विरोधी
सभामुखको चर्चा गर्दा नेपालका दोस्रा सभाुमुख हुनुहुन्थ्यो– दमननाथ ढुंगाना । ०४८ सालको प्रतिनिधि सभाका सभामुख ढुंगाना कांग्रेसबाट निर्वाचित हुनुभएको थियो । सभामुख बनेपछि उहाँले पार्टीबाट राजीनामा दिनुभयो र निष्पक्ष भूमिका निर्वाह गर्ने घोषणा गर्नुभयो ।
सभामुख बनेपछि दमननाथले घोषणा गर्नुभयो– ‘सरकार सत्तापक्षको, सदन प्रतिपक्षको ।’ घोषणा मात्र नभएर व्यवहारमा पनि दमननाथले त्यही गरेर देखाउनुभयो । उहाँलाई प्रतिपक्षीले कहिले आलोचना गरेन । बरु, निष्पक्ष भूमिका निर्वाह गरे वापत उहाँलाई सत्तापक्ष नेपाली कांग्रेसले नै चर्काे विरोध गरेको थियो । दमननाथलाई कांग्रेसका नेता तथा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पानीखेदो गर्नुभएको थियो ।
सभामुख हुँदा निष्पक्ष भूमिका निर्वाह गरेको सजाय दमननाथले धेरै समय पाउनुभयो । गिरिजाप्रसादले जीवनभर दमननाथको पानीखेदो गरिरहनुभयो । यद्यपी, पछि दमननाथ जनविरोधी मात्र नभएर देशविरोधी भूमिकामा समेत प्रकट हुनुभयो ।
महाभियोग भोग्ने सभामुख
०५१ को आमचुनावपछि बनेको प्रतिनिधि सभामा रामचन्द्र पौडेल (अहिलेका कांग्रेस नेता) सभामुख बन्नुभयो । उहाँले पार्टीबाट राजीनामा दिन मान्नुभएन तर पार्टीको बैठकमा उपस्थित पनि हुनुभएन । निष्पक्ष भूमिका निर्वाह गर्छु तर पार्टी छाड्न सक्दिन भनेर उहाँले भनिरहनुहुन्थ्यो ।
सभामुख पदमा बसेर रामचन्द्रले सभामुखको जस्तो व्यवहार गर्नुभएन । उहाँको एकमात्र उद्देश्य प्रमुख प्रतिपक्षी एमालेलाई अप्ठेरोमा पार्ने देखिन्थ्यो । रामचन्द्रले राजनीतिक अपराधी शैलीको हर्कत त गर्नुभएन तर निष्पक्षता पटक्कै देखाउनुभएन । आजित भएपछि एमालेले उहाँ विरुद्ध महाभियोग प्रस्ताव ल्यायो । महाभियोग पारित हुन दुई तिहाई चाहिन्थ्यो, एमालेसँग त्यो थिएन । तैपनि एमालेले महाभियोग अगाडि बढायो जो पारित भएन । निष्पक्षता निर्वाह नगर्ने सभामुखलाई त्यो महाभियोग ठूलो सबक थियो । भावी सभामुखहरुलाई ठिक बाटोमा हिँड्न महाभियोगको त्यो सबकले राम्रै भूमिका निर्वाह गरेको ठानिन्छ ।
प्रधानमन्त्री बन्ने चक्करमा लागेका सभामुख
०५६ सालको आमचुनावपछि कांग्रेसका तारानाथ रानाभाट सभामुख बन्नुभयो । उहाँको प्रारम्भिक भूमिका निष्पक्ष र तटस्थ नै रहेको मानिन्छ । नारायणहिटी हत्याकाण्डको छानविन गर्न बनेको समितिमा बसेपछि उहाँ विवादमा पर्नुभयो । त्यस्तो छानविन समितिमा सभामुख बस्न नमिल्ने धेरैको तर्क थियो । सभामुखले यस्ता छानविन समितिमा बस्न नमिल्ने अन्तराष्ट्रिय अभ्याशलाई समेत लत्याएर तारानाथ समितिमा बस्नुभएको थियो ।
त्यति अकल्पनीय र रहस्यमय हत्याकाण्डको छानविन गरेर उहाँको समितिले सिर्फ सात दिनमा प्रतिवेदन पेस गरेको थियो ।
त्यसपछि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभा भंग गर्नुभयो । प्रतिनिधि सभा नरहे पनि संविधान अनुसार सभामुख पदमा उहाँ कायम नै रहनुभयो । अहिलेको संविधानमा पनि प्रतिनिधि सभा विघटन हुँदा सभामुख भने कायम नै रहने व्यवस्था छ ।
प्रतिनिधि सभा विघटनपछि तत्कालीन राजा ज्ञानेन्द्रले पहिले घुमाउरो पाराले र पछि प्रत्यक्ष रुपमा सत्ता हातमा लिए । ती सबै प्रकरणमा तारानाथ मौन रहनुभयो । अरुलाई प्रधानमन्त्री बनाउँदा वैधानिक नहुने, सभामुखलाई प्रधानमन्त्री बनाए वैधानिक हुने, त्यसैले प्रधानमन्त्री बन्न पाउँछु भन्ने भ्रममा तारानाथ पर्नुभयो ।
०६३ मा प्रतिनिधि सभा पुर्नस्थापना भएपछि तारानाथले राजीनामा दिनुभयो ।
शानदार सभामुख
प्रतिनिधि सभा पुर्नस्थापना भएपछि तारानाथलाई कांग्रेसले समेत सभामुख मानेन । त्यसपछि एमालेका सुवासचन्द्र नेम्वाङ सभामुख बन्नुभयो । त्यसबेलासम्म सभामुख कांग्रेसबाट मात्र बन्दै आएका थिए, नेम्वाङ एमालेका हुनुहुन्थ्यो । अहिलेसम्मका लगभव विवादरहित सभामुख नेम्वाङलाई नै मानिन्छ । पछि उहाँ संविधानसभाको दुई पटक अध्यक्ष समेत बन्नुभयो । उहाँकै पालामा संविधान जारी भएको थियो ।
०१५ सालका सभामुख कृष्णप्रसाद भट्टराईभन्दा निष्पक्ष र तटस्थ भूमिका नेम्वाङले निर्वाह गरेको मानिन्छ । नेम्वाङलाई अधिकांशले ‘शानदार सभामुख’ भन्ने गरेका छन् ।
पहिलो महिला सभामुख
संविधान निर्माणपछि संविधानसभा ‘व्यवस्थापिका संसद्’मा परिणत भयो । आफ्नो जिम्मेवारी सकिएको भन्दै सुवासचन्द्र नेम्वाङले सभामुख पदमा रहन मान्नुभएन । त्यसपछि ओनसरी घर्तीले नेपालको पहिलो महिला सभामुखका रुपमा जिम्मेवारी समाल्नुभयो ।
ओनसरी माओवादीकी हुनुहुन्थ्यो । उहाँको भूमिका अपेक्षाकृत निष्पक्ष नै मानिन्थ्यो । वैठक नियन्त्रणको मामिलामा उहाँको भूमिका केही कमजोर देखिए पनि कुनै ठूलो विवादमा पर्नुभएन ।
‘…. काण्ड’ मा पर्ने सभामुख
कृष्णबहादुर महराको सभामुख कार्यकाल अनेक कारणले विवादित बन्यो । उहाँ बाहिर निष्पक्ष देखिए पनि भित्रभित्रै अनेक सेटिङमा लाग्नुभएको थियो । सरकारले प्रतिनिधि सभामा लगेका कैयन विजनेशमा महराले आफूखुसी अवरोध गर्ने गर्नुभएको थियो ।
उहाँ यस्ता विवादमा फस्नुभयो जसले गर्दा लाज पनि लजाउँछ । एक महिलासँगको अनैतिक सम्बन्ध, झगडा अनि मुद्दा मामिलामा फसेर महराले पद गुमाउनुपर्यो । यस्तो वात लागेपछि पनि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महरालाई अगाडि बढाइरहनुभएको छ । मौका परे महरालाई मन्त्री बनाउने चक्करमा प्रचण्ड लाग्नुभएको छ ।
र, कलंक सभामुख
विगतका अन्य सभामुखहरु पनि नचुकेका होइनन्, चुकेका छन् । कहिले नियतवश चुकेका होलान्, कहिले अन्जानमा चुकेका होलान् । तर, अहिलेसम्मका कुनै पनि सभामुखले संविधान, कानुन र संसद्का पूर्व नजीहरुलाई कुल्चने काम गरेका थिएनन् । विगतमा विवादमा परेका सभामुखहरु कसैले पनि त्यति निकृष्ट हरकत गरेनन् जति अग्निप्रसादले गर्नुभएको छ । कृष्णबहादुर महरा जे विवादमा फस्नुभयो त्यो यौन र नैतिकताको मामिला थियो, प्रतिनिधि सभाको चौघेरा बाहिरको विषयका कारण महराले पद त्याग्नुपरेको थियो ।
तर, अग्निप्रसादले भने दिउँसै रात पार्ने काम गर्नुभएको छ । आफैंले विगतमा गरेका निर्णय विपरितको काम गर्नुभएको छ । एउटा पार्टीको हकमा एउटा निर्णय, अर्काे पार्टीको हकमा अर्काे निर्णय गर्नुभएको छ । जनयुद्धका नाममा १७ हजार मानिस मार्ने पार्टीसँग आवद्ध अग्निप्रसादले व्यक्तिहत्या गरेको मुद्दा चलिरहेको छ, उहाँले संसदीय प्रणालीकै हत्या गर्ने दुस्साहस गर्नुभएको छ ।
आफ्नै आँखा अगाडि व्हीप उल्लंघन गर्ने १४ जना सांसद्लाई एमालेको सिफारिस बमोजिम पदबाट हटाउन मान्नुभएन । जबकि व्हीप उल्लंघन गरेको अभियोगमा अग्निप्रसादले अहिलेसम्म पाँचजना सांसद्लाई हटाइसक्नुभएको छ ।
अग्निप्रसाद सभामुख रहिन्जेल संसद् बैठक कसरी चल्छ भन्ने ठूलो प्रश्न सिर्जना भएको छ । अब अग्निप्रसादले संविधान र कानुन अनुसार १४ जनालाई हटाउने, राजीनामा दिने या महाभियोग भोग्ने तीनवटा बाटो देखिएको हो । वर्तमान संविधानमा सभामुख हटाउने कार्य ‘पद अनुकूल आचरण नगरेको’ अन्र्तगत पर्छ । तर, चलनचल्तीको भाषामा यसलाई ‘महाभियोग’ नै भनिन्छ ।
यही भूमिकालाई निरन्तरता दिनुभयो भने भावी इतिहासमा अग्निप्रसाद ‘कलंक सभामुख’ का रुपमा चिनिनुहुने छ ।