
राजु गिरी, पोखरा ।
पोखरामा तेस्रो संस्करणको इन्डुरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता हुने भएको छ ।
माउन्टेन बाइक कम्पनी डन टिल डस्कको आयोजनामा कात्तिक २७ देखी २९ गतेसम्म पोखरा महानगरपालिका वडा नम्बर १३ को आर्बा–बिजय डाँडामा प्रतियोगिता हुन लागेको हो । तीन दिनसम्म हुने प्रतियोगितामा १२ बढी देशका खेलाडीले सहभागिता जनाउने आयोजकले जनाएको छ ।
प्रतियोगिताका रेस डाइरेक्टर सुनिलचन्द्र शर्माका अनुसार नेपालसहित १२ बढी देशका ६० जनाभन्दा बढी प्रतिस्पर्धीले सहभागि जनाउने छन् । दर्ता प्रक्रिया चलिरहेकाले धेरै भन्दा धेरै खेलाडी दर्ता प्रक्रियामा रहेका शर्माको भनाई छ । उनका अनुसार गत भदौ २३ र २४ गते नेपालमा भएको जेन्जी आन्दोलनले केही नकरात्मक असर परेकाले सहभागि हुन आउने निश्चित भएका केही देशका खेलाडीले भने दर्ता फिर्ता समेत लिएका छन् । ‘१५ भन्दा बढी राष्ट्र सहभागि गराउने लक्ष्य लिएपनि जेन्जी आन्दोलनले अन्तर्राष्ट्रिय स्तरमा गएको नकरात्मक सन्देशले गर्दा १३, १४ राष्ट्रमात्र सहभागि हुने जस्तो देखिएको छ । तर पनि हामी अझ सहभागि बढ्नेमा आशाबादी छौं र तिब्र तयारीमा समेत लागेका छौं ।’ – रेस डाइरेक्टर सुनिलचन्द्र शर्माले सफलन्यूजसँग भने ।
प्रतियोगितामा इलिट पुरुषतर्फ जुनियर (१२–१८ वर्ष), मास्टर्स ‘क’ (३०–३९ वर्ष), मास्टर्स ‘ख’ (४०–४९ वर्ष), भेट्रान (५० वर्ष माथि), महिला ओपन तथा इ–बाइक गरि ७ विधामा प्रतिस्पर्धा हुनेछन् ।
प्रतियोगिताले खेलकुदलाई मात्र नभई खेलकुदसँगै पर्यटन प्रवद्र्धनलाई महत्वपूर्ण टेवा पुराउने कास्की जिल्ला साइक्लिङ संघका अध्यक्ष शंकर भण्डारी बताउँछन् ।
सञ्चालक माउन्टेन बाइक कम्पनी डन टिल डस्कका अनुसार सन् २०२० देखि तयारी गर्दै उक्त क्षेत्रमा संरचना बनाइरहेको छ । यस अघि २०८० र २०८१ सालमा प्रतियोगिता सम्पन्न भइसकेको छ ।
प्रतियोगिता समुन्द्री सतहबाट १३ सय ६० मिटर उचाँईमा रहेको आर्वा–बिजय डाँडामा हुनेछ । सो इन्डुरो प्रतियोगिताले विश्वभर ठुलो संख्यामा रहेका माउन्टेन बाइक प्रेमी आकर्षित भई नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा आयोजकको छ ।
प्रतियोगितालाई पोखरा महानगरपालिका, पोखरा १३ को वडा कार्यालय, कास्की जिल्ला साइक्लिङ संघलगाएत विभिन्न संघ संस्थाले समन्वय गरेको छ ।
 
			