निजी अस्पतालका नर्स र स्वास्थ्यकर्मीका पक्षमा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ कास्कीको ज्ञापनपत्र

पोखरा । निजी अस्पताल, क्लिनिक र गैरसरकारी स्वास्थ्य संस्थामा कार्यरत नर्स तथा स्वास्थ्यकर्मीहरूको पेशागत हकहितका माग राख्दै राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल, जिल्ला कार्यसमिति कास्कीले शुक्रबार जिल्ला प्रशासन कार्यालय कास्कीमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको छ।

 

महासंघले स्वास्थ्य क्षेत्रको गुणस्तरीय सेवा प्रवाह र स्वास्थ्यकर्मीको पेशागत सुरक्षाका लागि आवश्यक सुधार गर्न सरकारसँग माग गरेको छ। ज्ञापनपत्रमा भनिएको छ, “स्वास्थ्यकर्मीहरूको पेशागत मर्यादा, तलब–भत्ता, सेवा–सुविधा र सुरक्षाको विषयमा सरकार गम्भीर हुनुपर्छ, अन्यथा आन्दोलनलाई अझ सशक्त बनाइनेछ।”

 

महासंघका अनुसार देशभर नर्सिङ पेशाकर्मीहरू आफ्नो जायज मागका लागि आन्दोलनरत छन् र कास्कीले पनि त्यसप्रति ऐक्यवद्धता जनाएको छ। उनीहरूले निजी अस्पताल, गैरसरकारी र अन्य स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूलाई न्यूनतम पारिश्रमिकका साथै सेवा–सुविधा सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।

 

महासंघका अध्यक्ष लोकराज आचार्य र सचिव सविना श्रेष्ठले हस्ताक्षर गरेको उक्त ज्ञापनपत्रमा तीन बुँदा माग राखिएका छन् —

१. निजी तथा सरकारी निकायमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई सरकारले तोकेको दरअनुसार पारिश्रमिक र सुविधा तुरुन्त लागू गर्न।

२. स्वास्थ्यकर्मी तथा कर्मचारीका लागि सामाजिक सुरक्षा कोषमा अनिवार्य सहभागीको व्यवस्था गर्न।

३. स्वास्थ्यकर्मीका हक अधिकार कुण्ठित गर्ने गतिविधि रोक्न र कानुनी कारबाही सुनिश्चित गर्न।

 

महासंघले आन्दोलनको कारण सेवामा परेको प्रभावलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्ने उल्लेख गर्दै सरकारलाई चाँडो सकारात्मक पहल गर्न आग्रह गरेको छ।

“सामाजिक न्याय र पेशागत मर्यादाका लागि स्वास्थ्यकर्मीको एकता, आम नागरिकका लागि गुणस्तरीय स्वास्थ्य सेवा, हाम्रो प्रतिबद्धता,” भन्ने नारा सहित महासंघले आफ्नो आन्दोलन निरन्तर रहने जनाएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...