गण्डकी प्रदेशको समृद्धिको आधार सहकारी : मुख्यमन्त्री पोरखेल

पोखरा,पुस २२ गते ।गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले समृद्ध गण्डकी प्रदेशका लागि सहकारी क्षेत्रको सबलीकरणमा जोड दिनु भएको छ । सहकारी समाजको आर्थिक सामाजिक रुपान्तरणका लागि सहकारी नै उपयुक्त माध्यमका रुपमा रहेको उहाँको भनाइ छ । राष्ट्रिय सहकारी बैंक लिमिटेडको १८ औं वार्षिक साधारणसभाको एकाई (४) अन्तर्गत गण्डकी प्रदेश स्तरीय सभाको बिहीबार गण्डकी प्रदेशको राजधानी पोखरामा उ्घाटन पछि बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

गण्डकी प्रदेश महत्वपूर्ण स्रोत साधनले भरिपूर्ण प्रदेश हो, यहाका स्रोतहरुको अधिकतम परिचालनका लागि सहकारी र सरकारबीच सहकार्य आवश्यक रहेको उहाँले बताउनुभयो । ‘सहकारीले पर्यटन, जलविद्युत, उद्योग तथा व्यवसाय र रोजगारी प्रर्बद्धनमा लगानी गर्नुपर्दछ’ मुख्यमन्त्री पोखरेलले भन्नुभयो ‘सहकारीले सामाजिक उत्तरदायित्व अनुसार समेत काम गर्दै उत्पादनमुखी हुन जरुरी छ ।’ प्रदेशको आर्थिक विकासका लागि सहकारी क्षेत्रले बाहिर राखेर संभव नहुने उहाँको भनाइ थियो ।

 

जनताको स–सानोपूँजी र प्रविधिमार्फत आय–आर्जन गराउदै सहकारीले आफ्नो भूमिका बढाउदै लैजानुपर्ने भन्दै मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेशका तर्फबाट सहकारीलाई सकारात्मक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सहकारी बैंकले सहकारीको पूँजीलाई एकीकृत गर्दै उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने धारण व्यक्त गर्नुभएको थियो । गण्डकी प्रदेश सरकारका योजनासंग सहकारी बैंकका कार्यक्रमलाई जोडेर अगाडि बढ्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नु भयो ।

 

पूर्व मन्त्री तथा राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष केशव प्रसाद बडालले बहुआयामिक गरिवीको अन्त्यका लागि सहकारी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्दै संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले गरिवी निवारणका लागि सहकारी क्षेत्रसंग समन्वय गरेर योजना निर्माण र कार्यान्वयन गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले सहकारीमार्फत आर्थिक र सामाजिक रुपान्तरणका लागि सहकारी क्षेत्रको प्रभावकारी परिचालनका लागि अभियान सदैव तत्पर रहेको उहाँको भनाइ थियो ।

 

साधारणसभामा गण्डकी प्रदेश सरकारका भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिवी निवारणमन्त्री चन्द्र बहादुर बुढाले सहकारीहरुको योगदानका कारण रोजगारी सृजना देखि उत्पादनमा सहयोग पुगेको बताउनुभएको थियो । समृद्ध समाज निर्माणका लागि सरकारले लिएको लक्ष्यलाई पुरा गर्नका लागि सहकारी क्षेत्रको भूमिका थप प्रभावकारी बनाउनु पर्नेमा जोड दिदै मन्त्री बुढाले प्रदेश सरकार सहकारीहरुसग समन्वय गरेर अगाडि बढ्न तयार रहेको बताउनुभयो ।

 

प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार उदय बहादुर पराजुलीले सरकार र सहकारी अभियान मिलेर सहकारी क्षेत्रको प्रवद्र्धनमा काम गर्नु पर्ने बताउनुभयो । बैंकका अध्यक्ष के.बी उप्रेतीको अध्यक्षतामा भएको साधारण सभामा राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक हुमा कुमारी जिसी (अञ्जु), केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका वरिष्ठ उपाध्यक्ष अमर बहादुर कुँवर, नेफ्स्कुनका सञ्चालकद्वय चण्डी प्रसाद शर्मा र कमलादेवी गिरी, जिल्ला सहकारी संघ लिमिटेड नवलपुरका अध्यक्ष केशव प्रसाद सापकोटा, जिल्ला सहकारी संघ. कास्कीका अध्यक्ष सावित्रा कोइराला, पोखरा महानगर सहकारी समन्वय समितिका अध्यक्ष तेज नारायण अधिकारी लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।

 

साधारणसभामा बैंकका अध्यक्ष के.बी उप्रेतीले संञ्चालक समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । उहाले सहकारी क्षेत्रलाई व्यवसायिक रुपमा सक्षम बनाउन तथा सहकारीको संस्थागत विकासका लागि सहकारी बैंकले वित्तीय व्यवस्थापन, सहकारी स्तरीकरण लगायतका कार्यक्रम अगाडि बढाएको जानकारी दिनुभयो । बैंकले आफ्ना सदस्य सहकारी संघ संस्थासंगै समग्र सहकारी अभियानलाई सदस्य केन्द्रीत व्यवसायतर्फ अग्रसर गराउनुका साथै सहकारीको साख निर्माणका लागि समन्वयकारी भूमिका निर्वाह गर्दै आएको बैंकसंग सहकार्य गरेर अगाडि बढ्न सबै सहकारीहरुलाई अध्यक्ष उप्रेतीले आव्हान गर्नु भयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...