पोखरा । आउदो चैत २६ गते अटेरी अभियानले पोखरा लक्षित कार्ययोजना सार्वजनिक गर्ने भएको छ । आउँदो स्थानीय तह निर्वाचनका लागि विभिन्न वडाबाट उम्मेदवारी घोषणा गरेका अभियन्ताहरुले कार्यक्रममा सहभागी भएर उम्मेदवारीबारे प्रष्ट्याउने छन् ।
कार्यक्रम मार्फत सहभागीहरुलाई अभियानबारे प्रष्ट पारिने छ । अभियानका निर्वाचन अभियान संयोजक हरि कार्कीका अनुसार कार्यक्रममा उम्मेदवारी घोषणा गरेका अभियन्ताहरुले आफ्नो उम्मेदवारी र अभियानबारे बारे कार्यक्रममा सहभागी अभियानका शुभेच्छुकहरुलाई बुझाउने छन् । पोखराबाट सुरु भएर देशव्यापी बनेको अटेरी अभियानमा अहिले २ सय बढीले स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी सार्वजनिक गरि सकेका छन् । ‘के हो अटेरी ? अटेरी अभियानलाई नै किन मत दिने ? यी विषयमा उम्मेदवारहरुले प्रष्ट्याउनु हुनेछ,’ संयोजक कार्कीले भने ।
अभियानमा अहिले युवाहरू को ब्यापक चासो बढेको देखिन्छ । यो अभियानप्रति बढेको चासोप्रति पनि कार्यक्रममा समेटिने छ । अटेरी अभियानको पोखराका गनेस पौडेलले महानगरको मेयर पदमा उम्मेदवारी घोषणा गरेर सुरु गरेका थिए । अहिलेसम्म पोखराका १० वडामा वडाध्यक्ष र वडासदस्यमा समेत उम्मेदवारी घोषणा भई सकेको छ ।
२६ गते पोखरामा हुने संयुक्त उम्मेदवारी घोषणा तथा घोषणापत्र सार्वजनीकिरणका लागि ठाउँ र समय छिट्टै तोकिने कार्कीले बताए । साथै उनले कार्यक्रममा सहभागी भएर अभियानबारे जानकारी लिन पनि सबैलाई आग्रह समेत गरेका छन् ।
के हो अटेरी अभियान ?
झट्ट हेर्दा वा सुन्दा तपाईं हामी सबैलाई अटेर शब्द नकरात्मक लाग्छ । तर नकरात्मक हुनु नराम्रो हुनु हुँदैन । यसले सिधा अर्थ हुन्छ ः नो भन्नु । हुन्न भन्नु । गर्दिनँ वा मान्दिनँ भन्नु ।आफूमा अन्तरनिहित ज्ञान बुद्धि विवेक अनुभवको आधारमा विवेचना गरी मन नपरेको कुरालाई स्पष्टसँग र साहसपूर्वक हुँदैन भन्न सक्नु नै खासमा अटेर गर्नु हो ।
यसको राजनीतिक अर्थ भनेको आफूले मानिएको राजनीतिक दल वा विचार आफूले मानिआए अनुसार चलेको छ कि छैन ? तपाईँले मानिएको सिद्धान्त अनुरूप नै उम्मेदवार दिएको छ कि छैन ? यसको मूल्याङ्कन गर्ने र ती कुरा तपाईँले मानिआए बमोजिम नभएमा आफ्नै दललाई समेत अटेर गर्ने भन्ने हुन्छ । हामी जुन संस्था, जुन राजनीतिक दल, जुन संगठनमा छौ त्यसभित्रको विकृती बिसंगतीलाई इन्कार गर्ने, गलतलाई निर्धक्क गलत भन्ने र चित्त नपरेको कुरामा प्रश्न गर्ने आँट देखाउनु नै खासमा अटेरी गर्नु हो ।
त्यसैले पनि यो एउटा अभियान हो । कुनै संगठन होइन । पार्टी होइन ।हामीले पटक पटक व्यबस्था फेर्ने आन्दोलन त गर्यौ व्यवस्था पनि फे¥यौं । तर त्यसले आम नागरिकको जीवन फेर्न सकेन । अवस्था फेर्न सकेन ।अवस्था नफेरिनुमा दोषी को ? पहिलो दोषी देशका दलहरू हुन जसले अवस्था फेर्न सक्ने योग्य र इमान्दार उम्मेदवार दिन सकेनन् । दोस्रो दोषी हामी मतदाता पनि हौँ जसले भएका मध्येमा पनि सही उम्मेदवारलाई जनप्रतिनिधिको रूपमा चुन्न सकेनौँ । राजनीतिक दलको दलदलमा आम मतदाता समेत फस्दै जाँदा यो समस्या घटेन झन झन बढ्दै गयो । हामीले आफू संलग्न संघ संस्था , संगठन, पार्टीमा जानेर वा नजानेर कहिल्यै प्रश्न गर्न सकेनौँ । त्यहाँभित्र रहेका कुसंस्कृती विरुद्ध आवाज बुलन्द गर्न सकेनौँ । सधैँ जय नेपाल , लाल सलाम वा आआफ्ना अर्थहिन अभिवादनमा मात्रै बाँडियौँ । तर दलको राजनीतिक चिन्तन र आदर्श नै बुझ्न खोजेनौँ ।
अब पनि हामीले राजनीतिको दुष्चक्र तोड्न सकेनौँ भने देशको अवस्था कहिल्यै फेरिने छैन । यसपटकको स्थानीय चुनावलाई दलरहित बनाउन सक्यौ भने दलीय दादागिरीलाई राम्रो जवाफ हुनेछ । इतिहास रट्ने कुरा होइन रच्ने कुरा हो । इतिहास रचनाको यो अटेरी अभियानमा सरिक हुन सबैलाई आह्वान गर्दछौं ।