सत्ताधारी दलले शीर्ष नेताहरूको उपस्थितिमा पोखरामा चुनावी सभालाई गठबन्धन दलकै जनता समाजवादी पार्टीले भने बहिष्कार गरेको छ । पोखरामा आयोजित सभामा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा , नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड),एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल ,नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको सहभागिता रहेको छ ।
सत्ताधारी दलको गठबन्धनले गरेको सभामा सहभागी नहुनका लागि जनता समाजवादी पार्टीका पोखरा महानगर अध्यक्ष राजु क्षेत्रीले आफ्ना कार्यकर्ताहरूलाई आग्रह गरेका छन् । उनले गठबन्धनमा सहभागी दलहरूलाई गठबन्धनको सभामा आफ्नो पार्टीको चुनाव चिन्ह र झण्डा प्रयोग नगर्न चेतावनी पनि दिएका छन् । पोखरा महानगरपालिकामा वडा बाँडफाँडको विषयमा विवाद भएपछि जसपा गठबन्धनबाट बाहिरिएको हो । सत्ता गठबन्धनबाट पोखरा महानगरपालिकाको मेयर पदमा एकीकृत समाजवादीका नेता धनराज आचार्य र उपमेयर पदमा नेपाली काँग्रेसको नेतृ कोपिला रानाभाट रहेकी छिन् ।