जिल्ला समन्वय समिति कास्कीको चुनाव आज हुँदैछ । बिहान ९ बजेदेखि साढे १० बजेसम्म उम्मेदवारी मनोनयन र दिउँसो १ बजेदेखि २ बजेसम्म मतदान हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । समन्वयमा निर्वाचनका लागि नेकपा एमाले र नेपाली काँग्रेसले उम्मेदवारी दर्ता गर्ने भएका छन् ।
जिल्ला समन्वय समिति कास्की प्रमुखमा नेकपा एमाले कास्कीले लीलाधर पौडेलको नामा सिफारिस गरेको छ । नेपाली कांग्रेस कास्कीले सोही पदमा दीपेन्द्र ढकाललाई अघि सारेको छ । प्रमुखमा सिफारिस पौडेल पोखरा २२ का निर्वाचित वडा सदस्य हुन् । समन्वयको उम्मेदवार प्रदेश समितिले टुंगो लगाउने हुँदा जिल्ला समितिको बिहीबारको बैठकले ढकालको नाम कांग्रेस प्रदेश समितिलाई सिफारिस गरेको कास्की कांग्रेस सचिव भानु ढकालले जानकारी दिए । ढकाल मादी गाउँपालिकाको वडा नम्बर १२ बाट निर्वाचित वडा सदस्य हुन् । जिससमा उम्मेदवार हुन पालिकामा निर्वाचित भइसकेको हुनुपर्छ ।
नेकपा (एमाले)ले जिससको उपप्रमुखमा सरिता कुमाललाई सिफारिस गरेको छ । उनी रुपा गाउँपालिकाकी कार्यपालिका सदस्य हुन् । गठबन्धनको समझदारी अनुसार जिससको उपप्रमुखमा माओवादीबाट उम्मेदवार बनाउने भएपछि कांग्रेसले उम्मेदवार सिफारिस गरेको छैन । उपप्रमुखमा माओवादीबाट मादी ७ की उषा थापा उम्मेदवार हुने भएकी छन् । सदस्यमध्ये पनि १ जना माओवादीका पुर्खबहादुर पुन उम्मेदवार हुने भएका छन् । उनी माछापुच्छ्रे १ का हुन् । कांग्रेसबाट जिससको खुला सदस्यमा मादीका ओमप्रकाश गुरुङ र अन्नपूर्णका विजय गुरुङ, दलित तथा अल्पसंख्यकतर्फ पोखरा ४ की विष्णुमाया परियार, महिला सदस्य गोमा सुवेदी, शान्ता अधिकारी र गंगा रानाभाट उम्मेदवार हुने भएका छन् । एमालेबाट जिससको खुला सदस्यमा मादीका राजु अधिकारी, अन्नपूर्णका गणेशबहादुर घर्ती र बालिका सुवेदी, पोखरा २१ का सीता विश्वकर्मा, रुपाका हर्कबहादुर गुरुङ, माछापुच्छ्रेका लक्ष्मी परियार र सुकमाया नेपाली छन् ।
जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुख चुन्नका लागि मतदानमा गाउँपालिका र नगरपालिकाका, उपमहानगर र महानगरका प्रमुख र उपप्रमुखले मतदान गर्न पाछन् । कास्कीमा पाँच वटा स्थानीय तह छन् । स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार अब गाउँपालिका र नगरपालिकामा निर्वाचित प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यहरु समेत जिल्ला समन्वय समितिका उम्मेदवार हुन पाउनेछन् ।
तर, मताधिकार भने कास्कीका पाँच स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १० जनाको मात्रै छ । पाँच स्थानीय तहको पालिका प्रमुख र उपप्रमुख गरी नेकपा एमालेका ६ जना विजयी भएका छन् । एमालेको स्पष्ट बहुमत छ । एमालेको बहुमत भएकाले समन्वयको प्रमुख, उपप्रमुख र सदस्यहरु एमालेबाट निर्वाचित हुने निश्चित छ । नेकपा एमालेले अन्नपूर्ण र रुपा गाउँपालिकाको प्रमुख उपप्रमुख, पोखरा महानगरको उपप्रमुख र मादी गाउँपालिकाको उपप्रमुख जितेको छ । नेपाली कांग्रेसले माछापुच्छ्रे गाउँपालिका प्रमुख र उपप्रमुख, मादी गाउँपालिकाको प्रमुख र एकीकृत समाजवादीले पोखरा महानगरको प्रमुख जितेको छ ।