बुल्गेरियाका काम चलाउ प्रधानमन्त्री गलाब डोनेभ एकान्तवासमा बस्नु भएको छ । कोरोना भाइरसबाट सङ्क्रमित व्यक्तिको सम्पर्कमा पुगेको जानकारी पाएपछि उहाँले आफू एकान्तवासमा बस्न लागेको बताउनु भएको छ ।
उहाँको सचिवालयले वक्तव्य प्रकाशित गर्दै एकान्तवासमा रहेपनि स्वास्थ्यमा भने कुनै समस्या नदेखिएको उल्लेख गरेको छ । वक्तव्यमा लेखिएको छ, “प्रधानमन्त्रीको स्वास्थ्यमा कुनै समस्या छैन, कोरोना भाइरस नियन्त्रण सम्बन्धी मापदण्ड अनुसार उहाँ अहिले एकान्तवासमा बस्नु भएको हो ।”
उहाँले एकान्तवासमा बसेको भएपनि त्यहीबाट गर्न सकिने र गर्न मिल्ने कामहरु भने गरिरहनु भएको पनि वक्तव्यमा उल्लेख गरिएको छ । बुल्गेरियामा अहिलेसम्म १२ लाख ३३ हजार चार सय ७० जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । ती मध्ये चार सय २० जना पछिल्लो एक दिनमा सङ्क्रमित भएको सरकारी अधिकारीहरुले जनाएका छन् ।