वेलिङ्टन। न्युजिल्याण्डमा बसोबास गर्दै सार्वजनिक स्वास्थ्य, सामाजिक सेवा तथा नेपाली समुदायमा सक्रिय भूमिका निर्वाह गर्दै आएका डा. रमिल अधिकारी न्युजिल्याण्ड रेडक्रस (New Zealand Red Cross) को अपर हट शाखाको अध्यक्षमा चयन भएका छन्।

नयाँ जिम्मेवारी सम्हाल्दै डा. अधिकारीले सामाजिक सञ्जालमार्फत मानव सेवा, स्वयंसेवा र समुदायको हितमा समर्पित रेडक्रसको अभियानलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले यो जिम्मेवारीलाई सम्मान र विनम्रतापूर्वक स्वीकार गर्दै सबै स्वयंसेवक, साझेदार संस्था तथा समुदायसँग सहकार्य गर्दै अघि बढ्ने बताएका छन्।
उनको नियुक्तिलाई न्युजिल्याण्डस्थित नेपाली समुदायले गौरवको विषयका रूपमा लिएको छ। विभिन्न संघसंस्था तथा समुदायका सदस्यहरूले बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिएका छन्। उनीहरूले नेपाली मूलका व्यक्तित्वले अन्तर्राष्ट्रिय स्तरको मानवीय संस्थाको नेतृत्व पाउनु सम्पूर्ण नेपाली समुदायका लागि प्रेरणादायी उपलब्धि भएको बताएका छन्।
जनस्वास्थ्य विज्ञका रूपमा परिचित डा. अधिकारी न्युजिल्याण्डको स्वास्थ्य क्षेत्रमा लामो समयदेखि कार्यरत छन्। उनी स्वास्थ्य समानता (Health Equity), सामुदायिक सहभागिता र सार्वजनिक स्वास्थ्यसम्बन्धी विषयमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन्। उनी Public Health Association of New Zealand (PHANZ) का सह-अध्यक्षसमेत हुन्।
त्यसैगरी, उनी Justice of the Peace (JP), विवाह अधिकृत (Marriage Celebrant), White Ribbon Ambassador तथा नेपालिज कल्चर एण्ड टुरिजम प्रमोशन फोरम न्युजिल्याण्ड (NCTPF-NZ) का अध्यक्षका रूपमा पनि सक्रिय छन्।
विभिन्न सामाजिक तथा सामुदायिक संस्थामार्फत उनले लामो समयदेखि स्वयंसेवा र नेतृत्व प्रदान गर्दै आएका छन्।
सामाजिक सेवासँगै डा. अधिकारी नेपाली संगीत क्षेत्रका स्थापित गीतकार पनि हुन्। विदेशमा रहेर नेपाली भाषा, साहित्य र संगीतको प्रवर्द्धनमा निरन्तर योगदान दिँदै आएका उनले आफ्ना सिर्जनामार्फत नेपाली कला र संस्कृतिलाई अन्तर्राष्ट्रिय समुदायसम्म पुर्याउन महत्वपूर्ण भूमिका खेलेका छन्।
अपर हट शहरमा बहुसांस्कृतिक समाज, सार्वजनिक स्वास्थ्य, सांस्कृतिक प्रवर्द्धन तथा सामुदायिक नेतृत्वमा सक्रिय डा. अधिकारीको न्युजिल्याण्ड रेडक्रस–अपर हट शाखाको अध्यक्षमा भएको नियुक्तिलाई नेपाली समुदायसँगै समग्र बहुसांस्कृतिक समाजका लागि पनि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।