पाँच दशक पुरानो पुस्तकालय अब वृद्ध प्रतिक्षालयमा

म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकममा रहेको पाँच दशक पुरानो ऐतिहासिक अन्नपूर्ण पुस्तकालय जीर्ण बनेपछि वृद्ध प्रतिक्षालयको एउटा कोठामा सारिएको छ ।

कठोर पञ्चायती व्यवस्थाविरुद्ध जनतालाई सचेत बनाउने र प्रजातन्त्र प्राप्तिका लागि उत्साहित गराउने उद्देश्यले महायज्ञ लगाइ त्यसबाट सङ्कलन भएको धान र नगद सङ्कलन गरेर स्थानीयले २०२५ सालमा सो पुस्तकालय निर्माण गरेका थिए ।

विसं २०२५ सालमा निकै चुनौतिका साथ सिडिओ कार्यालयमा दर्ता गरी स्थापना गरिएको पुस्तकालयमा लाखौँ मूल्यका निकै महत्वपूर्ण पुराना ग्रन्थ, इतिहास, राजनीति, साहित्य, अध्यात्म, आयुर्वेद, ज्योतिषलगायत विभिन्न विषयका निकै महत्वपूर्ण किताबको सुरक्षाका लागि हाललाई वृद्ध प्रतिक्षालयको कोठामा सारिएको र भवन निर्माण गर्ने श्रोत जुटेपछि पुस्तकालय पुनःनिर्माण गरिने पुस्तकालयका सचिव एवम् स्थानीय अगुवा युवा गोपाल आचार्यले जानकारी दिनुभयो ।

पुस्तकालय जीर्ण भएपछि मुसा तथा चमेराको क्रिडास्थल बनेको र अमूल्य पुस्तकहरुको जतन गर्नका लागि तत्काललाई पुस्तक अन्यत्रै सारिए पनि पुस्तकालयको नयाँ भवन निर्माणका लागि पहल भइरहेको उहाँको भनाइ छ ।

आचार्यका अनुसार तत्कालीन समयमा स्थानीयवासीले राणा शासनको अन्त्य भएपछि पनि पञ्चायती व्यवस्थाले जनताका अधिकार कुण्ठित गरेकाले जनतालाई सूचित गराइ शिक्षाको ज्योति गाउँभरी फैलाउने उद्देश्यले पुस्तकबाट सञ्चालन गरिएको थियो ।

यसरी सञ्चालन गरिएको पुस्तकालयलाई जिल्लाकै ठूलो र नमूना बनाउन भद्रकला सुवेदीले सञ्चालन गरेको महायज्ञमा सङ्कलन भएको धान र नगदबाट विश्वभरका चर्चित पुस्तकसहित नेपाली राजनीति, सामाजिकसहित विभिन्न पक्षलाई समेटेका पुस्तक राखिएको भए पनि अहिले धेरै पुस्तक चोरी भएका छन् ।

तत्कालीन समयमा ठूलो रकम र जनशक्तिको प्रयोग गरी स्थापना गरिएको पुस्तकालय संरक्षण तथा यूवाको सक्रियता नहँुदा जीर्ण भएको स्थानीय वुद्धिजीवि खुमनाथ सुवेदीले बताउनुभयो । पुस्तकालय स्थापनापछि पञ्चायकालसमेतमा क्रान्ति र विभिन्न राजनीतिक सम्बन्धित पुस्तक जफत गरिएको थियो भने माओवादी जनयूद्धका क्रममा माओवादी नेताले क्रान्तिकारी सम्बन्धित पुस्तक लैजाने र पुस्तकालयमै पुगेरसमेत पढ्ने गरेका सुवेदीले जानकारी दिनुभयो ।

मन परेका र बजारसमेतमा नपाइने पुस्तक पाठकले लगे पनि फिर्ता नगरेपछि विस्तारै पुस्तकको सङ्ख्यासमेत घट्दै जान थालेको छ । पुस्तकालयलाई नियमित बनाउन साहित्य र शैक्षिक क्षेत्रमा सक्रिय रहेका ताकमबासीले चासो देखाए पनि त्यसलाई नियमित सञ्चालन गर्न स्रोत र जनशक्तिको समेत अभाव भएकाले सफल हुन सकेको छैन ।

गाउँका बुढापाकाले फुर्सदको समयमा पुस्तकालयको प्रयोग गर्ने इच्छा जनाए पनि भवन जीर्ण हुनुका साथै त्यहाँ भित्र रहेका फर्निचरसहित पुस्तक राख्ने ¥याकसमेत भाँचिएको अवस्थामा रहेकाले वृद्धवृद्धाको चाहनासमेत अधुरो रहेको थियो । अहिले प्रतिक्षालयको भवनमा सारिएपछि जेष्ठ नागरिक भेला भएर धर्मशास्त्र र आध्यात्मिक पुस्तक पढ्ने गरेका आचार्यले बताउनुभयो ।

यद्यपि नयाँ पुस्तकालय भवन निर्माणका लागि केही युवा भने लागि परेका छन् । युवाकै पहलमा गाउँपालिकाले चार कोठे भवन निर्माणका लागि बजेटको व्यवस्थासमेत गर्ने प्रतिबद्धता जनाएपछि पुस्तकालयको जग भने राखिएको छ ।

पुस्तकालयको नयाँ भवन निर्माण नहोउन्जेसम्म वृद्ध प्रतिक्षालयको भवनबाट नै पुस्तकालय सञ्चालन हुने आचार्यले जानकारी दिनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...