पाँच दिन ढिलो हुँदा पनि बाहिरिएन मनसुन, कहिले बाहिरिन्छ ?

काठमाडौं । औसत समयमा मनसुनी प्रणाली बाहिरिएको भए यो वर्षको दसैँ ‘हिले दसैँ’ हुने थिएन । पानी नपरेपछि सहरबाट घर– गाउँ जानेलाई अहिलेको जस्तो सास्ती हुने थिएन । घरमा टीका लगाएर आफन्तकोमा टीका तथा आशीर्वाद थाप्न हिँडेकाहरू बाढी, पहिरोले बाटैमा अलपत्र पर्ने थिएनन् ।

तर, औसत समयभन्दा ढिलोसम्म यो वर्ष मनसुनी प्रणाली नबाहिरँदा पानी पर्नेक्रम अझै रोकिएको छैन । धेरै भू–भागमा भारी र धेरै भारी वर्षा भइरहेको छ ।

औसत समयमा मनसुनी प्रणाली बाहिरिएको भए मनसुन सकिएर घाम लागेको पाँच दिन भएसक्ने थियो । नेपालबाट मनसुनी प्रणाली बाहिरिने औसत समय अक्टोबर २ हो । तर, आज अक्टोबर ७ हुँदा पनि मनसुनी प्रणाली बाहिरिएको छैन । थप सक्रिय भएको छ । जसका कारण देशका धेरै ठाउँमा अहिले पनि भारी र धेरै भारी वर्षा भइरहेको छ । जसका कारण स्थानीय नदी तथा खोलामा बाढी आएको छ । जसबाट सतर्क रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गर्दै आएको छ ।

मौसमविद्हरूका अनुसार अझै केही दिन यो प्रणाली नेपालबाट बाहिरिने छैन । हाल नेपालमा मध्यपश्चिम बंगालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । जसका कारण मनसुनी प्रणाली सक्रिय छ । र, पानी परिरहेको छ ।

“अझै केही दिन नेपालबाट मनसुनी प्रणाली बाहिरिने सम्भावना देखिएको छैन । यो प्रणाली अझै केही दिन रहन्छ,” मौसमविद् राजु प्रधानाङ भन्छन्, “अझै कम्तीमा चार/पाँच दिन मनसुन बाहिरिने सम्भावना देखिएको छैन । पूर्वी वायु आइरहेको छ । र, हिजोबाट यो वायु पश्चिमतर्फ सरिरहेको छ । यसले पनि मनसुन केही दिन रहने देखिन्छ ।”

सुदूरपश्चिमतर्फ पूर्वी वायु सरेकाले उक्त प्रदेशमा भने भारी वर्षाको सम्भावना छ । अन्य प्रदेशमा भने क्रमशः वर्षा कम हुँदै जाने उनी बताउँछन् ।

औसतमा अक्टोबर २ मा मनसुन नेपालबाट बाहिरिने भए पनि यो मितिभन्दा केही अगाडि वा पछाडि हुनु स्वाभाविक रहेको मौसमविद् राजु बताउँछन् ।

जुन १३ नेपालमा मनसुन भित्रिने सरदर मिति हो । तर, यो वर्ष जुन ५ मै मनसुन भित्रिएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...