नवौं राष्ट्रिय खेलकुदः एपिएफ र सुदूरपश्चिमको पहिलो जित

नवौं राष्ट्रिय खेलकुद अन्र्तगत महिला क्रिकेटमा सुदूरपश्चिम प्रदेश र एपिएफले पहिलो जित निकालेका छन् । पोखरामा भएको खेलमा एपिएफले बागमतीमाथि चार विकेटको जित निकाल्दा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई छ विकेटले पराजित गरेको हो ।

पोखराको क्रिकेट रंगशालामा भएको दिनको पहिलो खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ८९ रन बनाएको थियो । बागमतीका लागि कप्तान अश्मिना कर्माचार्यले नटआउट १९ रनको योगदान गरिन् । त्यस्तै सुमन खतिवडाले १९ रन बनाउँदा बागमतीका अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् । बागमतीलाई सस्तैमा समेट्न एपीएफकी रेखा रावल, नेरी थापा र इन्दु वर्माले समान एक एक विकेट लिँदा अन्य चार खेलाडी रन आउट भएका थिए । ९० रनको सामान्य लक्ष्य पछयाएको एपिएफले चार बल बाँकी छँदै लक्ष्य पुरा गरेको थियो ।

 

एपिएफलाई जित दिलाउन रोमा थापाले सर्वाधिक २२ रनको योगदान दिइन् । त्यस्तै एपिएफकी कप्तान सीता रानामगरले १६, ममता चौधरीले १७ , इन्दु बर्माले ५ रन बनाउँदा ओपनर ज्योति पाण्डे एक रनमै पविलियन फर्किएकी थिइन् । एपिएफकी नेरी थापा १६ तथा राजमती ऐरी चार रनमा अविजित रहे । बागमतीका लागि सोनी पाख्रिन र सुमन खतिवडाले दुई दुई विकेट लिँदा अस्मिनाले एक विकेट लिइन् । खेलको युमन अफ दि म्याच एपिएफकी नेरी थापा भएकी छिन् ।

 

दिनको दोस्रो खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गरेको हो । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गण्डकी प्रदेशले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै ५९ रन बनाएको थियो । गण्डकीका लागि कप्तान श्रृष्टि जैशीले सर्वधिक अविजित २८ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् । गण्डकीलाई सस्तैमा समेट्न सुदूरपश्चिमकी ऋतु कनौजियाले दुई तथा अनु कडायत, स्नेहा महरा र साबित्री धामीले एक एक विकेट लिए ।

 

६० रनको लक्ष्य पछ्याएको सुदुरपश्चिमले ५८ बल बाँकी छँदै चार विकेट गुमाउँदै लक्ष्य भेट्टाएको थियो । सुदूरका लागि ऋतु कनौजियाले सर्वाधिक २२ रन बनाउँदा स्नेहा महरा २१ रनमा अविजित रहिन् । गण्डकीकी शिला क्षेत्रीले दुई तथा श्रृष्टि जैशीले एक विकेट लिइन् । खेलको युमन अफ दि म्याच सुदूरपश्चिमकी ऋतु कनोजिया भएकी हुन् । सुदूरपश्चिम पहिलो खेलमा बागमती प्रदेशसँग आठ विकेटले पराजित भएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...