राज्यले मर्यादाक्रम बारम्बार घटबढ गराउँदा आत्मसम्मानमा ठेस पुगेको गुनासो

पोखरा १४ साउन।पोखरामा आयोजना भएको नेपालका प्रज्ञा–प्रतिष्ठान बिचको अन्तरक्रिया कार्यक्रम १० बुँदे ‘प्रज्ञा पोखरा घोषणापत्र २०८०’ जारी गर्दै सम्पन्न भएको छ ।

गण्डकी प्रज्ञा–प्रतिष्ठानको आयोजनामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल ललित कला प्रज्ञा–प्रतिष्ठान, नेपाल सङ्गीत नाट्य प्रज्ञा–प्रतिष्ठान, गण्डकी प्रज्ञा–प्रतिष्ठान तथा सुदूर पश्चिम प्रज्ञा–प्रतिष्ठानका कुलपति, उपकुलपति, सदस्य सचिव, प्राज्ञ परिषद् तथा प्राज्ञ सभाका सदस्यहरूको सहभागिता रहेको थियो । अन्तरक्रिया कार्यक्रमको घोषणापत्र आइतबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको छ ।

 

 

पत्रकार सम्मेलनमा बोल्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले राज्यले आफुहरुको मर्यादाक्रम बारम्बार घटबढ गराउँदा आत्मसम्मानमा ठेस पुगेको गुनासो गरें । ‘हामीले मर्यादा खोजेका होइनौ घरी घटाउने घरी बढाउने गर्दा आत्मसम्मानमा ठेस पुगेको छ’ उनले भने ।

 

 

नेपालका प्रज्ञा प्रतिष्ठान प्रकाशन गृह नभएको भन्दै पुस्तक प्रकाशन गर्ने बाध्यता प्रतिष्ठानलाई नभएको प्रष्ट पारे । पत्रकार सम्मेलनमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान कुलपति नारदमणि हार्तम्छाली र गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले अन्तरक्रिया कार्यक्रम आयोजना गर्नुको कारण र आगामी योजनाका बारेमा थप जानकारी गराए ।पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको घोषणापत्रको पहिलो बुँदामा मर्यादाक्रमको विषयलाई उठान गरिएको छ ।

 

 

जहाँ भनिएको छ–‘सबैभन्दा महत्त्वपूर्ण विषयका रूपमा रहेको प्राज्ञिक क्षेत्र (सांस्कृतिक सत्ता) को मर्यादालाई राजनीतिक तथा प्रशासनिक क्षेत्रले नजरअन्दाज गरेको देखिन्छ । सांस्कृतिक सत्ता नै सबै क्षेत्रको प्रमुख र आधारभूत अङ्ग हो । यसैले सांस्कृतिक क्षेत्रसँग जोडिएको प्राज्ञिक मर्यादासँग देशकै मर्यादा जोडिएको हुन्छ भन्ने कुरा बुझ्न आवश्यक छ र प्राज्ञिक क्षेत्रलाई राज्यले हेर्ने अहिलेको दृष्टिकोण बदल्न आवश्यक छ ।

 

 

हाल प्रचलनमा रहेको (गृहमन्त्रालयबाट जारी मर्यादाक्रम, २०७६) मा प्रज्ञा–प्रतिष्ठानहरूका कुलपति तथा उपकुलपतिको मर्यादाक्रम प्रज्ञा–प्रतिष्ठान ऐन, नियमावली तथा अन्य प्रचलित कानुनअनुसार छैन भने प्राज्ञहरूको मर्यादाक्रम स्पष्ट छैन । त्यसैले प्राज्ञिक गरिमा कायम हुनेगरी मर्यादाक्रम निर्धारण गरिनुपर्छ । सबै तहका कुलपति, उपकुलपति तथा प्राज्ञहरूको मर्यादाक्रम राज्यका अन्य निकायहरूको सोपान व्यवस्थाअनुसार कायम हुनुपर्दछ’।

 

 

हालसम्म पनि संस्कृति (भाषा, साहित्य, ललितकला, सङ्गीत नाट्य) नीति स्पष्ट नभएकोले नेपाली जनताको लामो सङ्घर्ष, त्याग र बलिदानबाट स्थापित परिवर्तनको मर्मलाई आत्मसात् गरी संस्कृति नीति बनाउनुपर्नेमा दोस्रो बुँदा मार्फत माग गरिएको छ ।

 

 

यसैगरी तेस्रो बुँदामा देशको विविधता, मौलिकता र सामाजिक–राजानीतिक परिवर्तनको मर्म र सौन्दर्यलाई आत्मसात् गरी नेपालका सबै भाषा, संस्कृति, ललितकला, सङ्गीत, दर्शन, रैथाने ज्ञान, सिपको सैद्धान्तीकरणसहित तिनको संरक्षण, संवर्धन र विकासमा जोड दिँदै प्राज्ञिक निकायको पुनर्संरचनामा जोड दिने भनिएको छ ।

 

 

प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदी, नेपाल ललित कला प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले थुम्केली, नेपाल सङ्गीत नाट्य प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव कुश्मा महरा ‘प्रगति’, गण्डकी प्रज्ञा–प्रतिष्ठानका उपकुलपति गोरे गुरुङ, सुदूर पश्चिम प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. टी.एन. जोशी, गण्डकी प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव  मनकुमार श्रेष्ठ, नेपाल ललित कला प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य, सौरगङ्गा दर्शनधारी, नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सभा सदस्य चेतनाथ धमला, नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सभा सदस्य नारायण मरासिनी र नेपाल ललित कला प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सभा सदस्य राधिका कँडेल सहभागी थिए ।

 

 

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...