फेरि जाग्दै र्‍‌यान्डम रिडर्स, अध्यक्षमा रुपिन्द्र सर्वसम्मत

पोखरा,भदौ ६ गते । लामो समयदेखि सुस्ताएको र्‍‌यान्डम रिडर्स सोसाइटी पुनः जाग्ने भएको छ । सोसाइटीका सदस्यहरूको भेलाले रुपिन्द्र प्रभावीको नेतृत्वमा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति गठन गरेसँगै सोसाइटीले आफ्नो यात्रालाई पुनः निरन्तरता दिन लागेको हो ।
यसअघि सोसाइटीका उपाध्यक्ष रहेका रुपिन्द्रले संस्थाको स्थापना कालदेखि नै विभिन्न पदमा रही कार्य गर्दै आएका छन् । गजल सन्ध्या, पोखराका पूर्व अध्यक्ष रहेका उनी हाल शिवालय माध्यमिक विद्यालयका प्रधानाध्यापकसमेत हुन् । शिक्षणसँगै साहित्य सिर्जना र सञ्चार क्षेत्रमा समेत उनी क्रियाशील छन् ।
२०६७ मा पोखरामा स्थापना भई पठन संस्कृतिको विकासका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्दै आएको सोसाइटी कोरोनाको महामारीपछि सुस्ताएको थियो । संस्थालाई थप गतिशील बनाउने उद्देश्यले गठित कार्यसमितिको उपाध्यक्षमा अनुपमणि अधिकारी र गौरी तमु, सचिवमा नेपाल प्रकाश अधिकारी, कोषाध्यक्षमा ध्रुव केसी र सहसचिवमा दीपक पराजुली रहेका छन् । यस्तै, सदस्यहरूमा अमृत सुवेदी, रामजीप्रसाद आचार्य, विष्णु सुवेदी, बाबुराम सुवेदी, दुर्गा राना र एलिसा विक रहेका छन् । एक महिला सदस्य पछि थपिने सचिव नेपाल प्रकाश अधिकारीले जानकारी दिए ।

 

त्यसै गरी समितिको पहिलो बैठकबाट सल्लाहकारहरूमा पूर्व अध्यक्षत्रय गनेस पौडेल, उपेन्द्र पौडेल र केशवशरण लामिछाने तथा पूर्व कोषाध्यक्ष मीरा ढकाल चयन भएका छन् । सोही बैठकले निवर्तमान अध्यक्ष केशवशरण लामिछानेको संयोजकत्वमा हसिना बस्नेत र विजय भण्डारी सदस्य तथा संस्थाका अध्यक्ष र सचिव पदेन सदस्य रहने गरी पुस्तक छनोट समिति पनि गठन गरेको छ ।
यसै बिच, नयाँ कार्यसमितिले पहिलो कार्यक्रम आगामी भदौ ३० गते शनिबार डा. नवराज केसीको कृति ‘शून्यको मूल्य’ माथि गणेश कार्कीको परिचर्चासहित सञ्चालन गर्ने बताइएको छ । हरेक महिनाको अन्तिम शनिबार बिहान ८ बजे हिमालयन रिडर्स कर्नरमा हुने कार्यक्रमलाई निरन्तरता दिनुका अलावा केही नयाँ योजनासहित समिति अघि बढ्ने संस्थाले जनाएको छ ।
सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...