नेपाल भारतसँग २३ रनले पराजित

हाङझाउ, असोज १६ गते । १९औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा नेपाल भारतसँग २३ रनले पराजित भएको छ ।

जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट फिल्डमा मङ्गलबार जितका लागि दुई सय तीन (२०३) रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ७९ रनमा समेटियो ।

 

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले र्वाधिक ३२ रन बनाउनुभयो । उहाँले १५ बलमा चार छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो ।

 

यस्तै कुशल मल्ल र सन्दीप जोराले समान २९/२९, ओपनर कुशल भुर्तेलले २८, करण केसीले अविजित १८, आशिफ शेखले १० र रोहित पौडेलले तीन रन बनाउनुभयो । यस्तै सोमपाल कामी सात र गुलशन झा ६ रनमा आउट हुनुभयो । सन्दीप लामिछाने लामिछाने पाँच रन जोड्दै पेभेलियन फर्किनुभयो ।

 

बलिङमा भारतका रवि विस्नोई र आवेश खानले तीन तीन विकेट लिनुभयो । अर्शदीप सिंहले  दुई तथा सई किशोरल एक विकेट लिनुभयो ।

 

यसअघि टस टिजेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा दुई सय दुई (२०२) रन बनाएको थियो ।

 

भारतका लागि  यशस्वी जैसवालले शतकीय इनिङ्स खेल्नुभयो । उहाँले ४९ बलमा आठ चौका र सात छक्काको सहयोगमा एक सय रन बनाउनुभएको हो । रिन्कु सिंहले अविजित ३७, कप्तान रुतुराज गायकवाडले २५ र शविम् दुवेले अविजित २५ रन बनाउनुभयो ।

 

बलिङमा नेपालका दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिनुभयो । सोमपाल कामी, सन्दीप लामिछाने एक एक विकेट लिनुभयो ।नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले पहिलो पटक भारतसँग टी-२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेको हो ।

 

एकदिवसीय क्रिकेटमा भने नेपालले एक महिना अघिमात्र एसिया कपमा भारतसँग प्रतिस्पर्धा गरेको थियो । नेपाल भारतसँग १० विकेटले पराजित भएको थियो । त्यतिवेला भारतसँग उत्कृष्ट ब्याटिङ गरेको नेपालको चर्चा विश्वभर चुलिएको थियो ।

 

विश्वकपको कारण भारतले यसपटक एसियाडमा दोस्रो रोजाइका खेलाडी मैदानमा उतारेको छ । एसियाड क्रिकेटको समूह चरणमा नेपालले पहिलो खेलमा मङ्गोलियामाथि दुई सय ७३ रनको विश्व कीर्तिमानी जित निकालेको थियो । दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई एक सय ३८ रनले हराएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...