मर्दी पदयात्रामा जाने पर्यटकको घुइँचो

कास्की, कात्तिक ११ गते । कास्की जिल्लामा अवस्थित विश्व प्रख्यात मर्दी पदयात्रामा जाने पर्यटकको यतिबेला घुइँचो लागेको छ । दसैँअघिदेखि नै यस पदयात्रामा पर्यटकको आगमन बढ्दा होटल तथा रेष्टुरेन्ट भरिभराउ भएका छन् । घटस्थापनादेखि आन्तरिक तथा बाह्य पर्यटक आगमन सुरु भएकामा दसैँको टीकाको भोलिपल्टदेखि पर्यटक आगमन ह्वात्तै बढेको व्यवसायीले बताएका छन् ।

मर्दी पदयात्रा छोटो समयमा गर्न सकिने उत्कृष्ट पदयात्राभित्र पर्दछ । पोखराबाट तीन दिन दुई रातमा पदयात्रा सकेर फर्किन सकिने भएकालेसमेत अधिकांशको रोजाइमा पर्ने गरेको छ । हातले समाउन सकिएला झैँ लाग्ने गरी आँखै अघि ठडिएका हिमशृङ्खला अनि हिउँले छपक्कै छोपेका सेता पहाड, हरिया वनजङ्गल, सुन्दर डाँडाकाँडा र बस्तीले पर्यटक तानेको छ ।

 

प्राकृतिक सुन्दरताले भरिएको पदयात्रा मार्गका हरेक मनमोहक दृश्यले पर्यटक लोभिने गरेका छन् । कुमारी माछापुच्छ्रे हिमालसहित मर्दी, अन्नपूर्ण साउथ, हिमचुली, अन्नपूर्ण प्रथम, गङ्गापूर्ण, गन्धर्व चुलीलगायत आधा दर्जनभन्दा बढी हिमाल नियाल्ने अवसर मिल्ने भएकाले यस पदयात्रामार्गमा बाह्य तथा आन्तरिक पर्यटकको आकर्षण बर्सेनि बढ्ने गरेको छ ।

 

मर्दी ट्रेक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष राजकुमार तामाङले दैनिक चार सयको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटकले अहिले मर्दी पदयात्रा गर्ने गरेको बताउनुभयो । उहाँका अनुसार पर्यटक आगमन बढेसँगै व्यवसायीलाई उनीहरूको स्वागत सत्कार र आतिथ्यतामा भ्याइनभ्याइ छ ।

 

“कोभिडले थला परेको पर्यटनलाई अहिलेको पर्यटक आगमन बढ्दा उत्साहित भएका छौँ । दसैँको भोलिपल्टदेखि हामीलाई पर्यटकको व्यवस्थापन गर्न हम्मेहम्मे परेको छ”, तामाङले भन्नुभयो । मर्दी पदयात्रामा ६० वटा होटल तथा रेष्टुरेन्ट रहेका छन् । यहाँ दैनिक पाँच सय ५० हाराहारीमा पर्यटकलाई बास बस्नसक्ने क्षमता छ । कुनै दिन पर्यटक आगमन दैनिक पाँच सयभन्दा बढी हुने गरेको बताइन्छ ।

 

दुईदिनअघि मर्दीको पदयात्रा गर्नुभएका गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले मर्दीको पदयात्रा गर्दा आफू रोमाञ्चित बनेको बताउनुभयो । ‘भ्यू प्वाइन्ट’बाट देखिने सुन्दर दृश्यावलोकनले पदयात्रामा भोग्नुपरेका सबै थकान र कष्ट एकै क्षणमा भुलिने उहाँले सुनाउनुभयो ।

 

बरालले भन्नुभयो, “मर्दी ट्रेकिङ नेपालीहरूको प्रमुख रोजाइको पदयात्रा गन्तव्य बनेको छ । यसबाट आर्थिक गतिविधिमा योगदान दिएको छ, त्यहाँ गएर बस्न खान कुनै समस्या छैन । पारिवारिक यात्राको राम्रो गन्तव्यसमेत बनेको छ ।” ‘भ्यू प्वाइन्ट’मा शौचालयको अभावका कारण पर्यटक समस्यामा परेको देखिएको बताउँदै प्रदेशसभा सदस्य बरालले समस्या समाधानका लागि प्रदेश सरकारसँग पहल गर्ने बताउनुभयो ।

 

पोखराबाट २२ किमी दूरीमा रहेको माछापुच्छ्रे गाउँपालिकाको घलेले हुँदै कालीमाटी तथा सिदिङसम्म जीपयात्रापछि मर्दी पदयात्रा सुरु हुन्छ । त्यहाँबाट जङ्गलको बाटो हुँदै उकालो चढेर दुई हजार नौ सय ७० मिटर उचाइमा अवस्थित लो क्याम्प पुगिन्छ ।

 

माछापुच्छ्रे धम्पुस तथा अन्नपूर्ण गाउँपालिकाको काँढेबाटसमेत पोथना, अष्ट्रेलियन क्याम्प, प्रितम देउराली, फरेस्ट क्याम्प हुँदै लो क्याम्पसम्म पर्यटक पुग्दछन् । लो क्याम्पबाट बादलडाँडा, हाइक्याम्प, ‘भ्यू प्वाइन्ट’ हुँदै चार हजार पाँच सय मिटर उचाइको मर्दी आधार शिविर (एमविसी) पुगिन्छ । ‘भ्यू प्वाइन्ट’ बाट लस्करै ठडिएका आधा दर्जनभन्दा बढी हिमालसहित पोखरा उपत्यकालगायत स्थानको दृश्यावलोकन गर्न सकिन्छ ।

 

अधिकांश पर्यटक मर्दी हिमाल बेसक्याम्प पुगेर, घलेले, क्यानोनिङ हुँदै चिया गाउँका रूपमा परिचित ल्वाङ हुँदै पोखरा फर्कने गर्दछन् । मर्दी पदयात्रा छोटो समयको पदयात्राका रूपमा रहेकाले एक-दुई दिनको बिदाको समयमा समेत पूरा गर्न सकिने भएकाले पर्यटकको रोजाइमा पर्ने गरेको पदयात्रा क्षेत्रमा पर्ने होटल कालीमाटीका सञ्चालक शिव भण्डारीले बताउनुभयो । रासस

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...