मौरी पालेर वार्षिक आठ लाख कमाउँदै केसी

दाङ, पुस १३ गते । तुलसीपुर उपमहानगरपालिका-१० गोलौरीका ४८ वर्षीय माधव केसी व्यावसायिक रुपमा उन्नत जातका माहुरीपालन गरेर सफल माहुरी उद्यमीको रुपमा स्थापित हुनुभएको छ ।

विगत डेढ दशकदेखि सो पेसा अँगाल्नुभएका केसीले तीनजनालाई पूर्णरुपमा र दुई जनालाई आंशिकरुपमा रोजगारी दिनु भएको छ । माहुरीपालनबाट वार्षिक आठ लाख बचत गर्न सफल भएको उहाँले बताउनुभयो । सफल व्यावसायिक माहुरी पालकरुपमा परिचित केसीको दिनचर्या माहुरीका घारलाई स्याहार तथा संरक्षण, चरण र मह काड्नेदेखि बजार व्यवस्थापन हुने गर्दछ ।

 

आजभोलि महको सिजन भएकाले उहाँ माहुरी कर्ममा व्यस्त हुनुहुन्छ । कृषि क्षेत्रमा राम्रो सम्भावना देखेरै बिएसीएजीको अध्ययन पूरा गरेपछि वि.सं.२०६२ देखि प्राकृतिक मौरीपालन फार्म खोलेर उन्नत जातको  माहुरीपालन सुरुआत गरेको उहाँले बताउनुभयो । सुरुमा २५ घार मौरीबाट व्यवसाय सुरु गर्नुभएका केसीसँग हाल तीनसय घार मेलीफेरा जातका माहुरी छन् । उहाँले यस वर्ष १२ टन मह उत्पादन गरी सकेको अझ उत्पादन बढ्ने बताउनुहुन्छ ।

 

माहुरीपालन व्यवसायमा सन्तुष्ट भए पनि महको बजार व्यवस्थापनमा समस्या भएको उहाँको भनाइ छ । “तोरी चरणबाट उत्पादन हुने मह फुट्करमा प्रतिकिलो पाँच सय र जङ्गमा चरणबाट उत्पादन भएको मह प्रतिकिलो आठ सयसम्म बिक्री गर्ने गरेको छु”, उहाँले भन्नुभयो बुधबार माहुरी फार्ममा मह किन्नका लागि आउनुभएका तुलसीपुर उपमहानगरपालिका-६ का २५ वर्षीय श्याम चौधरीले आफ्नै घर-आँगनमा शुद्ध मह खान पाइएको बताउनुभयो ।

 

“महमा औषधीजन्य गुण पनि हुन्छ । जाडोमा पनि महको सेवन राम्रो मानिन्छ”, उहाँले भन्नुभयो । केसीले फार्ममा हालसम्म एक करोडसम्मसम्म लगानी गरिसक्नुभएको छ । उहाँले माहुरीका घार र मह बिक्रीबाट वार्षिक २२ देखि २५ लाखसम्म आम्दानी गर्नुहुन्छ । सबै खर्च कटाएर वार्षिक सातदेखि आठ लाख बचत हुने गरेको केसीले बताउनुभयो ।

 

उहाँ माहुरी चरणका लागि कैलालीसम्म पुग्नुहुन्छ । माहुरी जोन कार्यक्रमले माहुरी र माहुरीका घार ५० प्रतिशत अनुदानमा प्राप्त भए पनि महले बजार पाउन नसक्दा समस्या भएको उहाँको भनाइ छ । बालीनालीमा बढ्दो विषादीको प्रयोग तथा जङ्गल निकुञ्जमा परिणत हुँदा माहुरी चरणका लागि समस्या हुने गरेको केसीको अनुभव छ । उहाँ भन्नुहुन्छ, “सरकारले पहिलो प्राथमिकता माहुरी पालक किसानले उत्पादन गरेको महलाई खपतका लागि बजारीकरण गरिदिनुपर्छ ।

 

हाल उहाँको फार्ममा माहुरीपालनका बारेमा जानकारी लिन, घार अवलोकनका लागि पनि मानिसहरु आउने गरेका छन् । नेपालमा विभिन्न देशबाट मह आयात हुने र नेपालको महभन्दा ती ठाउँबाट आयातित मह व्यापारीले सस्तो मूल्यमा बिक्री गर्दा आफूहरुले उत्पादन गरेको महले उचित मूल्य र बजार नपाएको केसीले दुखेसो पोख्नुभयो । रासस

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...