युवा सङ्घ कास्कीद्वारा वृद्धाश्रममा फलफूल तथा खाद्यान्न वितरण

पोखरा,१ वैशाख ।युवा सङ्घ नेपाल कास्कीले नयाँ वर्षको अवसरमा पोखरा १७ सीतापाईला स्थित पोखरा वृद्धाश्रममा फलफूल तथा खाद्यान्न वितरण गरेको छ ।  अध्यक्ष मिलनजंग कुँवरको नेतृत्वमा सो कार्यक्रम गरिएको सङ्गठनले बताएको छ ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेश कमिटी इन्चार्ज तुल बहादुर गुरुङ, पार्टीको कास्की जिल्लाका अध्यक्ष खड्ग हमाल, प्रदेशका सदस्यहरू प्रेम पौडेल र नवराज पहारी लगायतका नेता कार्यकर्ताहरू सहित अनेमसंघको समेत सहभागिता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि पार्टीका स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेश कमिटी इन्चार्ज तुल बहादुर गुरुङले ज्येष्ठ नागरिकहरू प्रति युवाहरूको सम्मान र उनीहरू प्रति गहिरो चिन्ताका रूपमा आफूले लिएको बताउनुभयो । अग्रज पुस्ताको अनुभवलाई ग्रहण गर्दै उपयुक्त मार्गदर्शनका लागि समेत ज्येष्ठ नागरिकहरूको सम्मान आवश्यक रहेको उहाँले बताउनुभयो ।
पार्टीको कास्की जिल्लाका अध्यक्ष खड्ग हमालले वैचारिक रूपमा राजनीतिक संलग्नता र सामाजिक सेवा भावको तादम्यता युवा पुस्ताहरूमा जीवित रहेको उदाहरणका रूपमा आफूले आजको कार्यक्रमलाई लिएको बताउनुभयो । सामाजिक रूपमा उपेक्षित नागरिकहरूको आश्रय स्थलका रूपमा रहेको पवित्र वृद्धाश्रममा युवाहरूको सहयोग निकै प्रभावकारी र अर्थपूर्ण हुने उहाँले बताउनुभयो ।
सङ्घका अध्यक्ष मिलनजंग कुँवरले सम्मानित अभिभावकहरूको सेवामा समर्पित हुन पाउँदा खुसी लागेको बताउनुभयो । आफूहरूको सहयोग परिमाणका हिसाबले सानो भए पनि आवश्यकता र खाँचोमा यो निकै महत्त्वपूर्ण हुने बताउनुभयो ।
युवाहरूलाई सामाजिक सेवामा लाग्न प्रेरणा र सही मार्गदर्शनको आवश्यकता रहेको उल्लेख गर्दै उहाँले ज्येष्ठ नागरिकहरूको आर्सिंवादले असल दिशानिर्देश गर्ने विश्वास व्यक्त गर्नुभयो । यस प्रकारको सहयोग पार्टी र सङ्गठनको तर्फबाट निरन्तर गर्दै जाने उहाँले बताउनुभयो ।
यसैबिच नयाँ वर्षको अवसरमा पार्टी कार्यालयमा चियापान सहित शुभकामना आदान प्रदान कार्यक्रम समेत गरिएको अध्यक्ष कुँवरले जानकारी दिनुभयो ।
सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...