प्रभावकारी बन्दै मातृशिशु स्वास्थ्यमा हाते पुस्तिका

पोखरा/गर्भवती आमा र बच्चाको स्वास्थ्यलाई प्राथमिकतामा राखेर बनाइएको मातृ तथा बाल स्वास्थ्य हाते पुस्तिका प्रभावकारी बनेको छ । हाते पुस्तिकामा आमा र बच्चाको स्वास्थ्य सुरक्षा, हेराचाह, वृद्धि, विकास सम्बन्धि जानकारी समावेश गरेर तयार पारिएको छ ।


जापान सहयोग नियोग (जाइका) को पार्टनरसीप कार्यक्रम अन्तर्गत सिटीजन्स एशोसियसन फर नेपाल एक्सचेन्ज र पोखरा कोमागाने नागरिकमैत्री एशोसिएसनले आमा र बच्चाको दिगो स्वास्थ्यलाई प्राथमिकतामा राखेर मातृशिशु स्वास्थ्यका लागि अविछिन्न हेरचाह परियोजना सञ्चालन गरेको छ । अहिले परियोेजना अन्तर्गत मातृ तथा बाल स्वास्थ्य हाते पुस्तिका वितरण गरिएको हो ।

 

पोखरा महानगरपालिकाको वडा नम्बर वडा नम्बर १६, १९, २०, २५ र ३० मा यो परियोजना सञ्चालन भइरहेको छ । परियोजनाले मातृशिशु मितेरी अस्पताललाई ५० र शिसुवा अस्पताल लेखनाथलाई ६० वटा हाते पुस्तिका हस्तानतरण गरेको छ ।बिहिबार परियोजनाको आन्तरिक प्रतिवेदन प्रस्तुत कार्यक्रममा सहभागी अधिकांशले हाते पुस्तिका प्रभावकारी भएको बताएका हुन् । पोखरा–२५ हेम्जाकी स्वास्थ्य स्वयमसेविका लक्ष्मी अधिकारीले ज्ञानबद्र्धक भएकाले हाते पुस्तिका सबै गर्भवतीको हात हातमा पु¥याउन आवश्यक रहेको बताइन् ।

 

स्वास्थ्य कार्यालय कास्कीकी पब्लिक हेल्थ नर्स अधिकृत सम्झना ढुंगानाले प्रयोग गर्न सहज भएकाले परियोजनाको हाते पुस्तिका सेवाग्राहीले रुचाएको बताइन् । ‘मातृ सेवा र बाल सेवा कार्डलाई मर्ज गरिएकाले परामर्श गर्न आवश्यक छ’, उनले भनिन् ।मातृशिशु मितेरी अस्पतालका मेडिकल सुपरिटेन्ट एवम स्त्रीरोग विशेषज्ञ डा. धर्मदेव ढकालले परियोजनाले नेपाल सरकारको मातृ शिशु मृत्युदर घटाउने लक्ष्यलाई पछ्याइरहेको उल्लेख गरे । परियोजना अस्पतालका लागि अवसर बनेको उनले बताए । ‘हामीकहाँ काउनसिलिङका लागि छुट्टै रुम बनेको छ । यो नेपालमा अन्त कुनै अस्पतालमा छैन’, उनले भने ।

 

स्वास्थ्य मन्त्रालय गण्डकीका स्वास्थ्य प्रशासक डा.रमेशकुमार केसीले यो परियोजना गण्डकी प्रदेशभर विस्तार गर्नुपर्ने बताए । त्यसका लागि संघीय सरकारसँग सहकार्य गर्नुपर्ने उनको भनाइ थियो ।स्वास्थ्य मन्त्रालयका सचिव डा. विनोदविन्दु शर्माले पोेखराका ५ वडामा स्वास्थ्य सेवा सुधार्न परियोजनाले सघाएको बताए । परियोजनालाई अझै विस्तार गर्नुपर्नेमा उनको जोड छ ।मातृशिशु अस्पातल सञ्चालक समतिका अध्यक्ष कृष्ण थापाले जापनको कोमागाने सिटीकोे सहयोगमा अस्पताल सञ्चालनमा आएको स्मरण गरे । अहिले अस्पतालको प्रभाव क्षेत्रमा परियोजना सञ्चालन हुँदा गर्भवती महिलाको स्वास्थ्यमा सुधार ल्याउने काम गरेको उनको ठम्याइ छ ।

 

गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले मातृशिशु स्वास्थ्यका लागि अविछिन्न हेरचाह परियोजनालाई निरन्तरता दिनुपर्ने सुझाव दिए । उनले मातृशिशु मितेरी अस्पताल स्तरोन्नती गरेर ५० शैय्याको बनाउन लागेको बताए । नीति तथा कार्यक्रममा समेटको आगामी आर्थिक वर्षको बजेटबाट आवश्यक बजेट बिनियोजन गर्ने बताए ।परियोजना अन्तर्गत सन् २०१५ देखि २०२० सम्म पोखरामा मातृशिशु स्वास्थ्यका लागि अविछिन्न हेरचाह परियोजनाको पहिलो र दोस्रो चरणको कार्यक्रम भइसकेको छ । २०२३ देखि सुरु भएको तेस्रो परियोजना २०२५ मा हस्तानतरण गर्ने लक्ष्य छ ।

 

तेस्रो चरणको परियोजनामा मातृ तथा बाल स्वास्थ्य हाते पुस्तिका, कवाते ब्रेस्ट मसाज र मातृ र शिशुमैत्री अस्पतालको पहल सम्बन्धि काम हुने परियोजनाका व्यवस्थापक उषा बरुवालले बताइन् । ‘मातृ शिशु मृत्युदर घटाउने अभियान हो’, उनले भनिन् । जापनको कोमागाने शहर र पोखरा महानगरपालिकाबीच मितेरी साइनो छ । त्यसैले पनि कोमागाने शहरबाट पोखराका लागि विभिन्न परियोजना र सहयोग प्राप्त हुने गर्दछ ।पोखरा कोमागाने नागरिकमैत्री एशोसिएसनकी अध्यक्ष शान्ति शेरचनको अध्यक्षतामा भएको कार्यक्रममा जाइका नेपालका उपनिर्देशक केन्चिरोे इसुका, मातृशिशु मितेरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धर्मराज थापा, मातृशिशु मितेरी अस्पतालकी बाल रोग विशेषज्ञ डा. रोजिना पौडेल, मातृ शिशु स्वास्थ्य विशेषज्ञ कोयोको योनिडा लगायतले बोलेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...