गण्डकीको बजेटमा गडबड, सरकारले स्पष्ट जवाफ दिन नसक्दा संसद बैठक स्थगित

पोखरा, असार ।गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८१–०८२ का लागि प्रस्तुत गरेको बजेटमा गडबड भएको प्रमुख प्रतिपक्ष दल एमालेले आरोप लगाएको छ ।

सरकारले आगामी  आर्थिक   वर्षको लागि ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । यसरी प्रस्तुत गरिएको बजेटको खर्च गर्ने श्रोतको बारेमा उल्लेख गरिएको अंकको जोड कुल बजेटसँग बराबर नभएपछि यो विषयले संसदमा प्रवेश पाएको हो ।
थापामगरले बजेटको श्रोतमा संघ सरकारबाट १२ अर्ब  ५८ करोड ५४ लाख, राजश्व बाँडफाँडबाट ९ अर्ब ६१ करोड १२ लाख, रोयल्टी बाँडफाँटबाट ४८ करोड १० लाख, आन्तरिक राजश्वबाट ५ अर्ब १७ करोड, आन्तरिक ऋणबाट १ अर्ब ७० करोड तथा आर्थिक वर्ष २०८०–२०८१ को योजना बजेटबाट बचेको कार्यान्वयनपछिको बजेट २ अर्ब ९४ करोड मौज्दात भनेर श्रोत उल्लेख गर्दा कुल बजेटसँग हिसाब नमिलेको खुलस्त पार्नुभयो ।
यो जोड्दा कुल बजेट भन्दा ४९ करोड ९ लाख ७५ हजार अपुग हुन्छ  । ‘यहीं नै फुल बजेट भनिएको छ, पुग्यो त? सरकार तर्फबाट जवाफ चाहियो’ उहाँले भन्नुभयो ।
सरकारले हडबडमा गडबड भएको भनेर सुःख नपाउने उहाँको तर्क थियो । यो विषयमा स्पष्ट जवाफ नआउँदासम्म संसद चल्न नसक्ने उहाँको भनाई थियो ।
आफूले यस अगाडिको संसदमा समेत हिसाब नमिलेको कुरा प्रष्ट रुपमा राखेको स्मरण उहाँले गराउनुभयो ।
थापाको भनाई पश्चात एमाले गण्डकी प्रदेश संसदीय दलका प्रमुख सचेतक गोविन्द बहादुर नेपालीले स्पष्ट जवाफ नआए बैठक सञ्चालन गर्न नदिने बताउनुभयो ।
एमालेका प्रमुख सचेतक नेपालीले यो विषयमा प्रष्ट नभइकन सदन चल्न सम्भव नभएको बताउनुभयो ।
‘मन्त्रीज्यूको जवाफ पनि आयो एउटा सिधा विषय के छ भने ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार विनियोजित रकममा खर्च गर्ने जुन–जुन श्रोतहरु बजेटमा देखाइएको छ त्यो स्रोतहरु जोड्दाखेरी टोटल बजेट आउन पर्छ की पर्दैन? हाम्रो प्रश्न यहीं मात्र हो । ४९ करोड ७ लाख ७५ हजार रुपैयाँको श्रोत कहाँ गयो? सिधा विषय छ यसमा । के विगतका बजेट यस्तै आउने गर्दथे?’ सचेतक नेपालीको प्रश्न थियो ।
खर्च बेहोर्ने श्रोतहरु जोड्दा कुल बजेट आउनुपर्ने विषय सामान्य भएको भएपनि त्यसमा के भयो भन्ने चित्तबुझ्दो जवाफ नआएको उहाँले खुलाउनुभयो ।
‘हाम्रो यति मात्र प्रश्न हो की खर्च बेहोर्ने श्रोत जोड्दाखेरी टोटल बजेटको आकार क्यालकुलेटरमा देखिनुपर्‍यो । त्यो देखाउन सक्नुपर्‍यो । अर्थमन्त्री ज्यू त्यो देखाउन सक्नुपर्छ । यो विषयमा प्रष्ट नभइकन सदन चल्ने कुरा सम्भव छैन’ उहाँले भन्नुभयो ।
त्यसपछि प्रतिपक्ष दल एमाले र माओवादी केन्द्रका सासंदले उठेर विरोध जनाए । सभामुख कृष्ण प्रसाद धितालले आसनग्रहण गरेर वातावरण सहज बनाउन आग्रह गर्दा समेत नमानेपछि बैठक स्थगित भयो । अब अर्को बैठक असार ७ गते शुक्रबार साढे ११ बजे बस्नेछ ।
सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...