प्रदूषित हुँदैछन् पोखराका तालहरु

भनिन्छ, ‘पानी जीवन हो ।’ यदी यो नहुँदो हो त, पृथ्वीमा जीवन शुन्य हुन्थ्यो । तर, पछिल्लो समय त्यहीँ जीवन दिने पानी प्रदूषित बन्दैछ । जसको असर मानव जीवनसहित वातावरणमा परिरहेको छ । यसको ज्वलन्त उदाहरण हुन् फेवाताल र बेगनास तालमा देखिएका असरहरू ।

फेवातालको अध्ययनः हानिकारक ब्याक्टेरिया र माइक्रोप्लास्टिक बढ्दै
सन् २००७ मा युनिभर्सिटी अफ ब्रिटिस कोलम्बिया र जल अनुसन्धान विकास केन्द्र काठमाडौले फेवातालको पानीको गुणस्तरको अध्ययन ग¥यो । त्यस समय अवस्था ठिकै थियो । तर, बढ्दो शहरीकरणका कारण सम्भावित प्रदूषणलाई रोक्नुपर्ने सुझाव अध्ययनले दियो । यसको १६ वर्ष पछि सन् २०२३ मा गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठानले यहाँको पानीको अवस्थाका विषयमा अध्ययन ग¥यो । अब भने यहाँको अवस्था १६ वर्ष अघिको जस्तो रहेन, पानी दूषित भएकाले तालमा पौडी खेल्दा समेत रोग लाग्न सक्ने तर्फ अध्ययनले सचेत गरायो । प्रतिष्ठानले तालको १० स्थानबाट नमूना संकलन गरि दुई वर्षसम्म अध्ययन गरेको थियो ।

अध्ययनले तालको पानीमा दिशा (मल) मा हुने ब्याक्टेरिया (थर्मोटोलेरेन्ट कोलिफर्म ब्याक्टेरिया) भेटिएको पुष्टि ग¥यो भने पानीमा हानिकारक कोलिफर्म ब्याक्टेरियाहरू, टर्बिडिटीको उच्च स्तर, फस्फेट–फस्फोरस, घुलनशील अक्सिजन र पानीको कठोरता विश्व स्वास्थ्य संगठनको मापदण्ड भन्दा बढी रहेको पत्ता लगायो ।

गत जुन २०२३ मा गरिएको एक अध्ययनले ताल संरक्षण तथा विकास प्राधिकरणलाई बुझाएको प्रतिवेदनमा समेत फेवातालको पानी दूषित हुँदै गएको तथा युट्रोफिकेशनको जोखिम बढ्नुको साथै क्लोरोफिल ए को स्तर बढीरहेको देखाएको छ । युट्रोफिकेशनको द्रुत वृद्धि प्रक्रियाले गर्दा पानीमा पोषक तत्वको मात्रा निकै बढी हुन जान्छ, जसले अक्सिजनको कमी र जलीय जीवनलाई हानि पु¥याउने विज्ञ बताउँछन् ।

सन् २०२१ मा गरिएको पर्यावरण विज्ञान र प्रदूषण अनुसन्धानको अध्ययनले फेवातालको पानीमा माइक्रोप्लास्टिक प्रदूषण प्रचुर मात्रामा देखाएको छ । यता वातावरण र प्राकृतिक स्रोत जनरल २०२३ तथा युनिभर्सिटी अफ चाइनिज एकेडेमी अफ साइन्स् बेइजिङ, चीनले अघिल्लो वर्ष गरेको अध्ययनले फेवातालको पानीको गुणस्तर खस्कदै गएको र यसले इको सिस्टमलाई नै असर पार्ने तथ्यांक नै सार्वजनिक गरेको छ ।

बेगनास तालमा पानीको गुणस्तर खस्कदो
बेगनास तालको पानीको गुणस्तर पनि खस्कदै गएको विभिन्न अध्ययनले देखाएको छ । गत जून २०२३ मा गरिएको एक अध्ययनले ताल संरक्षण तथा विकास प्राधिकरणलाई बुझाएको प्रतिवेदनमा बेगनासतालको पानीको अधिक्तम हाइट्रोजनको सम्भाव्यता (पीएच लेभल) सीमा नाघेको र घुलनशिल अक्सिजन उच्च देखिएको छ । जसले बेगनास तालको पानीमा प्रदूषण भएको पुष्टि गर्छ । यस्तै यहाँ फोस्फेटको मात्रा पनि उच्च देखिएको छ, जसले तालको पानीको स्वास्थ्यलाई हानी गरिरहेको छ । फेवातालको तुलनामा बेगनासतालको प्रदूषण कम देखिए पनि यसलाई बेलैमा रोकथामका गर्न नसकिए अवस्था बिग्रँदै गएर पछि फेवातालकै हालतमा पुग्ने अध्ययनहरूको सुझाव छ । फेवाताल र बेगनासताल त उदाहरण मात्रै हुन् । बढ्दो सहरीकरणका कारण यस्ता ताल र पोखरी प्रदूषणको सिकार बनिरहेका छन् ।

के भन्छन् विज्ञ ?
प्राकृतिक भन्दा पनि मानविय क्रियाकलापले गर्दा विश्वमै जल प्रदूषण उच्च रहेको विज्ञहरू बताउँछन् । पछिल्लो समय यो क्रम नेपालका ताल र पोखरीहरूमा पनि उच्च रूपमा देखिएको पृथ्वी नारायण क्याम्पसका प्रोफेसर तथा वातावरण विज्ञ डा. होम पाठकको भनाई छ । उनका अनुसार बढ्दो शहरीकरण, उद्योगीकरण, कृषि विषादी, ढल, फोहोरका कारण पोखरामा फेवातालको पानी प्रदूषित बनेको हो । भन्छन्, ‘तालको पानीमा नाइट्रोजन, फस्फोरसको मात्रा बढीरहेको छ । जलकुम्भी मैलाएको छ । अक्सिजनको अभाव र नुनीलोपन कम हुदै गएको छ । यसले गर्दा हैजा जस्ता महामारी नफैलिएला भन्न सकिन्न ।’
जलप्रदूषणले एक क्षेत्रमा मात्र नभई सबै क्षेत्रमा असर पार्ने उनी बताउँछन् । बेलैमा ‘वाटर सेक्युरिटी’ नअपनाए ठूलो क्षति व्यहोर्नुपर्ने उनको तर्क छ ।

यता मत्स्य अनुसन्धान केन्द्र पोखराका प्रमुख तथा वरिष्ठ बैज्ञानिक डा. इकबाल हुसेन तालको पानी दूषित हुँदै गए सबै क्षेत्रमा असर देखिने दाबी गर्छन् । भन्छन्, ‘यस्तै अवस्था रहिरहे माछा, मानव मात्र नभई सबैलाई असर पार्नेछ । तालको पानीको शुद्धताको कुरामा नेपाल सरकारले गर्नुपर्ने कुरा धेरै छन् । सुरुमा त कृषि विषादी र सहरका फोहोरलाई रोक्न पर्छ ।’

जहाँतही फोहोर र ढल फालिएको हुँदा फेवाताल निकै प्रदूषित बन्दै गएको र त्यहाँका माछामा मरकरी समेत फेला परेकोमा डा. हुसेन निकै चिन्ता व्यक्त गर्छन् । बेगनासताल अहिलेसम्म शुद्धतामा सुरक्षित नै रहेको तर फेवाताल तिव्र गतिमा बिग्रदो अवस्थामा रहेको उनी बताउँछन् । राज्यको ठोस योजनाले नै यसलाई रोक्न सक्ने उनको भनाई छ ।

तालको पानीको शुद्धताको अध्ययन गरेको गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठानका कार्यकारी निर्देशक डा. ढाकाराम भण्डारी तालहरूको अवस्था निरन्तर बिग्रिएको बताउँछन् । यसमा फेवातालको अवस्था अझै गम्भिर रहेको उनको तर्क छ । ‘क्लोरोफिल ए ले गर्दा ताल हरियो देखिदै गएको छ । शुद्ध ताल निलो देखिन्छ । क्लोरोफिल ए ले गर्दा बोट, विरुवा, झारहरू चाहिने भन्दा बढी मौलाउदै गएको छ । यसले इको सिस्टममै असर पार्छ । यसलाई नियन्त्रण आवश्यक छ । ताल हरियो हुँदै गएको भनेको ताल अस्वस्थ हुनु हो,’ उनी भन्छन् ।

प्रदूषण बढ्दै गएमा वातावरणमा प्रत्यक्ष असर पार्ने र विविधता घट्दै जाने डा. भण्डारी बताउँछन् । भन्छन्, ‘जैविक विविधता र वातावरण सन्तुलनलाई खल्बलाउने भएकाले प्रदूषणलाई रोक्नै पर्छ । यसले हामीले सोचेको भन्दा पनि बढी असर पारिरहेको हुन्छ ।’ जल प्रदूषण हुनुको मुख्य कारण मानव वस्तीको ढल र भल रहेको हुँदा प्रशोधन गरेर मात्र ताल, खोला, नदीमा मिसाइनुपर्ने उनको सुझाव छ ।

‘सरोकारवाला धेरै भए, संरक्षणको योजना छरियो’
यता ताल संरक्षणको काम गर्दै आएको ताल संरक्षण तथा विकास प्राधिकरणका अधिकारी भने यो काम गर्ने सरोकारवाला धेरै भएकाले काममा समस्या आएको दाबी गर्छन् । ‘तालतलैयाको विषयमा सरोकारवाला धेरै भए । मुख्य निकाय कुन हो भनेर राज्यले एकिन नगरेको हुँदा विभिन्न समस्या पैदा भएका छन्, ताल संरक्षण तथा विकास प्राधिकरणका कार्यकारी निर्देशक शम्भुकुमार मिश्र भन्छन्, ‘जब सम्म एउटै बास्केट वा एउटै च्यानलबाट कुनै पनि विकासको काम हुँदैन, त्यो राम्रोसँग हुँदैन ।’

प्रदेश सरकारले एउटै नीति, नियम र कार्यविधि बनाए काम गर्न सहज हुने निर्देशक मिश्रको तर्क छ । ‘सबै अन्यौलताले गर्दा तालतलैयाको संरक्षण हुन सकेको छैन । सरोकारवाला एउटै हुनुप¥यो । ताकी तालको कुरा आउने वित्तिकै को हो मुख्य भन्ने एकिन हुन प¥यो,’ उनी थप्छन् । जल प्रदूषणको विषयमा ताल प्राधिकरण आफैले भने कुनै नगरेको मिश्र स्विकार्छन् । ‘यस विषयमा थाहा हुँदा हुँदै पनि केही गर्न सकिएको छैन । कार्यक्रम हामीले बनाउने भन्दा पनि माथीबाट तोकेर आउने हो,’ उनी पन्छिए ।

जल प्रदूषणको नियन्त्रण गर्न बजार एरियाको ढल, घर, खोल्साबाट आउने दूषित पानी, जलाधार क्षेत्रबाट आउने भल तथा कृषि क्षेत्रबाट आउने विषादीयुक्त पानीको नियन्त्रण गर्नुपर्ने मिश्रको भनाई छ । भन्छन् –‘सबैलाई व्यवस्थित गर्न फेवाताल जलाधार क्षेत्र घोषणासमेत भएको थियो तर नियमअनुसार केही पनि भएको छैन । हामीले ताल संरक्षणका विषयलाई प्राथमिकतामा राखेका छौं ।’ जल प्रदूषण रोकथामका लागि जति पनि काम भैरहेको छ, त्यो क्षणिकको लागि भइरहेको मिश्र बताउँछन् । उनी दिगो रोकथामको योजना बनाउनुपर्ने उनी सुझाउछन् । कसैले ऐन कानून विपरित प्रदूषित हुने कार्य गरेको भए तुरुन्त कारवाही गर्ने कार्यविधि सरकारले बनाएर लागू गर्नुपर्ने उनी बताउँछन् ।

जल प्रदूषणको असर के केमा देखियो ?
एक अध्ययनका अनुसार दुई तिहाइ रोग प्रदूषित पानीका कारण नै हुन्छ । पानीमा पाइने रासायनिक पदार्थको सम्पर्कबाट जल प्रदूषणले मानव स्वास्थ्यलाई प्रत्यक्ष र अप्रत्यक्षरूपमा असर गर्छ । पिउने पानीसँगै रोग सर्ने ब्याक्टेरिया, भाइरस र प्रोटोजोआ मानव शरीरमा पुगेर हैजा, टाइफाइड, शिशुको प्रवाह, पेच, जन्डिस, पेच, कलेजोको फोहोर, एक्जिमा, जिआर्डिया, नार्कोटिक, लेप्टोस्पायरोसिसजस्ता गम्भीर रोग निम्त्याउने चिकित्सक बताउँछन् । वर्खाको समयमा फेवातालको पानी झन दुषित हुनेहुँदा आउ रगत (मासी पर्नु)का बिरामी बढीरहेका पश्चिमाञ्चल क्षेत्रिय अस्पतालका चिकित्सक डा. रामचन्द्र बास्तोला बताउँछन् । भन्छन् –‘ताल वरिपरिका बालकहरु पौडी खेल्न जाने गरेकाले दिशामा रगत देखिने र त्यसपछि हनहनती ज्वोरो आउने भइरहेको छ, बेलैमा थाहा पाइएन र उपचार गरिएन भने यसले कलेजोमा पिप जम्मा भई मृत्यु समेत हुन सक्छ ।’ पानी दूषित भैसकेपछि विशेषगरि बालकलाई पहिलो नम्वरमा टाइफाइड, त्यसपछि आउ रगत (डिसेन्ट्री, मासी पर्नु), हेपाटाइटिस, हैजा जस्ता खतरनाक रोग लाग्ने उनी बताउँछन् ।

जल प्रदूषणले जलचर र वनस्पतिमा समेत असर पारिरहेको हुन्छ । फोहोरमा पाइने धेरै विषाक्त पदार्थहरूले जलीय जीवनलाई नै नष्ट गर्छ । यसले जलीय जीवनको विविधतालाई कम गर्ने वातावरण विज्ञ डा. अनिल सुवेदी बताउँछन् । उनी भन्छन् –‘विविध कारणले जलमा प्रदूषणको मात्र बढ्दै गएको छ जसले जलचरलाई ठूलो असर पारिरहेको हुन्छ । जलीय जीवनको विविधतालाई नकरात्मक प्रभाव पारिरहेको छ । रसायनिक पदार्थ र ढलको मिसावटको कारण बढी प्रदूषण छ । यसलाई तुरुन्त रोक्नुपर्दछ ।’

जल प्रदूषणले कृषि उब्जनीमा समेत असर पारिरहेको हुन्छ । पानीले सिँचाइ हुने बालीको गुणस्तरमा ह्रास ल्याउनाले स्थानीय कृषि उब्जनीमा नकरात्मक असर पारेको छ । तालको पानीमा बढ्दो प्रदूषणले उर्वरा शक्तिमा हानी पु¥याउनुको साथै खाद्य सुरक्षामा असर पर्ने कृषि विज्ञ इन्द्रप्रसाद पौडेल बताउँछन् । भन्छन् –‘बढ्दो जल प्रदूषणले जलिय जीवनलाई मात्र असर पार्ने होइन कि यसले माटोलाई असर पार्दै कृषि उब्जनीमा समेत असर पार्छ । रसायनिक पदार्थको पानीमा मिसावट भैसकेपछि सिँचाई हुदै जाने कृषि क्षेत्रमा नकरात्मक प्रभाव पारेको छ । यसको नियन्त्रण जलाधार क्षेत्रबाटै गर्नुपर्छ ।’

राज्यले देखाएन तदारुकता
अहिले तीब्र औद्योगिक विकास, जनसंख्या वृद्धि, जलस्रोतको दुरूपयोग, शहरीकरण लगायतका मानव निर्मित तथा प्राकृतिक कारणले जल प्रदूषणको समस्या गण्डकी प्रदेशमै विकराल बन्दै गएको छ । राज्यका संवन्धित निकायले भने यस्तो गम्भिर विषयलाई आफ्नो प्राथमिकतामा भने राखेको छैनन् ।

स्रोत साधनको कमी हो या चासो नभएको हो, समग्र गण्डकी प्रदेशकै ताल, पोखरी, खोला, नदीहरूको पानीको गुणस्तर कस्तो छ भन्ने डाटा नै छैन । न जलस्रोत मन्त्रालयसँग छ, न खानेपानी तथा ढल व्यवस्थापन कार्यालयसँग छ, न त पोखरा महानगरपालिकासँग छ । यस्तो गम्भिर विषयमा राज्यले चासो नराख्दा वातावरण विद्हरू चिन्तित देखिन्छन् । वातावरण प्रतिकुल पार्ने विषयमा राज्य गम्भिर हुनु जरुरी छ साथै यस विषयमा अध्ययन अनुसन्धान गरि तत्कालै यसको रोकथाममा राज्य लाग्नुपर्ने देखिन्छ ।

‘बेलैमा प्रभावकारी काम गरौं’
जल प्रदूषण आज विश्वसामु नै ठूलो चुनौती बनेको छ । यसको बेलैमा रोकथाम गर्नुपर्ने विज्ञहरू सुझाउँछन् । जनतामा सचेतना फैलाउने पाटो एउटा भए पनि राज्यले नै ठोस योजना ल्याई यसको रोकथामको लागि कदम चालिहाल्नुपर्ने जानकारहरू बताउँछन् ।

सरोकारवाला निकाय, आम जनता सबैले रोकथामका लागि जति गरेपनि यसमा राज्यको भूमिका महत्वपूर्ण हुन्छ । राज्यले नै ठोस दिर्घकालिन योजना ल्याउन आवश्यक रहेको विभिन्न प्रतिवेदनमा उल्लेख समेत गरिएको छ । अहिले नै रोकथामका लागि राज्यले प्रभावकारी कदम नचाल्ने हो भने सिंगो वातावरण नै खतरामा पर्ने निश्चित छ । चिन्ता व्यक्त गर्दै वातावरण विद् डा. अनिल सुवेदी भन्छन् –‘जल प्रदूषण निकै चुनौतीपूर्ण बन्दै गएको छ । ढल र रसायनिक पदार्थको मिसावटका कारण ताल, पोखरीका पानी बढी प्रदूषित बनिरहेको छ । राज्यले न्यूनीकरणका लागि तत्कालै कदम चाल्नुपर्ने देखिन्छ । फेवातालमा मात्र नभई पोखराका अन्य तालमा पनि दीर्घकालिन योजनाका साथ राज्यले कदम चाल्नुपर्छ र प्रदूषण हुनबाट तत्कालै रोक्नु आवश्यक छ ।’

जल प्रदूषकहरूको प्रवाहलाई कम गर्ने उपायहरू लागू गरिनुपर्ने र ढल तथा फोहोरको व्यवस्थापनमा कडा कानुनहरू बनाई लागू गर्नुपर्ने विज्ञहरू सुझाउँछन् । ‘जलस्रोतको विकास तथा उपयोग र त्यसबाट आर्थिक, सामाजिक, प्राकृतिक तथा जलीय जैविक विविधता (अक्वाटिक बायोडाइभर्सिटी) लगायत पक्षमा परेको प्रभावका विषयमा एकीकृत तथ्यांक तथा जानकारी राख्ने व्यवस्थाको अभाव देखिन्छ,’ राष्ट्रिय जलस्रोत नीति २०७७ मै भनिएको थियो ।

नेपालले राष्ट्रिय जलस्रोत रणनीति, राष्ट्रिय जल योजना र अन्य जलसँग सम्बन्धित नीतिहरूमा एकीकृत जलस्रोत व्यवस्थापन (आईडब्ल्यूआरएम)को अवधारणालाई जोड दिएको छ । तर, जलस्रोतको व्यवस्थापनका लागि उचित संस्थागत व्यवस्था र योजना कार्यान्वयन ढाँचाको अभाव भने छँदैछ । जसका कारण आईडब्ल्यूआरएम अभ्यासहरूको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । जसको परिणामस्वरूप सरोकारवालाहरूबीच समन्वयको अभाव रहेको, पानीको गुणस्तर खस्किंदै गएको र पानीबाट उत्पन्न प्रकोप लगायत पानीसँग सम्बन्धित चुनौतीको सम्बोधन गर्ने प्रयासले सफलता पाउन सकेको छैन ।

राज्यको ध्यान मुख्यतः पानीको उपयोग, पूर्वाधार विकास र तत्कालको समस्याको समाधानमा केन्द्रित छ । तर‚ पानीको स्वच्छता, व्यवस्थापन, संरक्षणलाई भने प्राथमिकतामा राखेको देखिदैन । तसर्थ खतरातर्फ जाँदै गरेको वातावरणलाई स्वच्छ र सन्तुलनमा राख्न राज्यले दिर्घकालिन योजना बनाई तत्कालै लागू गर्न जरुरी छ ।
०००

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...