सुरक्षित वैदेशिक रोजगारीका लागि सञ्चारकर्मीहरूसँग अन्तरक्रिया

पोखरा । वैदेशिक रोजगारीलाई सुरक्षित र विश्वासिलो बनाउने कार्यमा क्रियाशील सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले पोखरामा क्रियाशील सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गरेको छ । सुरक्षित वैदेशिक रोजगारीका लागि आवश्यक सूचना, सीप र सरकारी पहलको जानकारी दिन अन्तरक्रिया कार्यक्रम गरिएको सामी कार्यक्रमका जिल्ला संयोजक तथा पोखरा महानगरपालिकाका अधिकृत आदिम ध्वज श्रेष्ठले बताउनुभयो ।

 

पोखरा महानगरपालिकाद्धारा आयोजित कार्यक्रममा “स्वदेशमा नै रोजगारी गरौँ, वैदेशिक रोजगारीमा जाने नै भए, सही सूचना लिएर र सीप सिकेर मात्र जाऔँ” भन्ने मूल नाराका साथ श्रम आप्रवासनका विविध पक्षमा अन्तरक्रिया गरिएको हो । कार्यक्रममा संयोजक श्रेष्ठले सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत वैदेशिक रोजगारीको वर्तमान अवस्था, सरकारका प्रयास र गण्डकी प्रदेशमा सञ्चालनमा रहेका कार्यक्रमहरू बारे विस्तृत जानकारी गराउनुभयो ।

 

वैदेशिक रोजगारीका बारेमा पत्रकारहरूलाई सचेतना अभिवृद्धि गराउने उद्देश्यले आवश्यक प्रक्रिया, कानुनी प्रावधान, सम्भावित जोखिम र सुरक्षाका उपायबारे जानकारी दिने उद्देश्य रहेको आयोजकले जनाएको छ ।

आप्रवासनका विषयमा सञ्चारकर्मीहरू र कार्यक्रम कार्यान्वयनकर्ताबीच सहयोग र समझदारीलाई प्रगाढ बनाउँदै सहकार्यात्मक साझेदारी निर्माण गर्ने प्रयास गरिनुका साथै भ्रामक र अपुष्ट सूचनालाई न्यूनीकरण गर्दै विश्वसनीय र तथ्यमा आधारित सामग्री प्रकाशन तथा प्रसारणमा सञ्चारकर्मीहरूलाई सशक्त बनाउने लक्ष्य लिइएको छ।

त्यस्तै नीति निर्माण तहमा प्रभाव पार्ने जिम्मेवार पत्रकारिताको महत्त्वबारे छलफल गर्दै नीतिगत सुधारका लागि दबाब सिर्जना गर्ने कार्यक्रमको अर्को मुख्य उद्देश्य रहेको छ।

 

पोखरा महानगरपालिकाका रोजगार संयोजक विष्णुप्रसाद दाहालले वैदेशिक रोजगार बोर्डबाट प्रदान गरिने सेवा सुविधा बारे जानकारी दिनुभयो । यस्तै नगरप्रमुख धनराज आचार्यका प्रेस संयोजक भीम थापाले वैदेशिक रोजगारका सवालमा सञ्चारकर्मीको संवेदनशीलता विषयमा प्रस्तुति दिनुभएको थियो ।

त्यस्तै नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले पत्रकारका लागि आवश्यक र समयसापेक्ष विषयक अन्तरक्रिया आयोजना प्रति धन्यवाद दिएका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...