पाेखरा, कार्तिक २ गते ।पोखरा महानगरपालिका लगायत देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभियान सुरु गरिएको छ । नेपाल सरकारको प्राथमिकता प्राप्त यस अभियानको पोखरा महानगरपालिका भित्र रहेका बालबालिकाहरुलाई भिटामिन ए र।जुकाकाे औषधि खुवाउने अभियान शुभारम्भ भएको हो ।
अभियान अन्तरगत महानगरपालिकाका ६ देखि ५९ महिनासम्मका करिब २६ हजार ३५४ र यहाँ अस्थायी रूपमा बसोबास गर्ने करिब ६ हजार बढी बालबालिकाहरू गरी ३२ हजार बालबालिकाहरूलाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै छ । यसका लागि महानगरपालिकाका स्वास्थ्यकर्मीहरू, ६५६ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका लगायत परिचालन गरिएको महानगरले जनाएको छ । महानगरपालिकाले आज र भोली महिला स्वास्थ्य स्वयमसेविकाहरुका लागि निःशुल्क यातायात सेवाको व्यवस्था समेत गरेको छ ।
अभियान शुभारम्भ अन्तर्गत महानगरका उपप्रप्रमुख मञ्जुदेवी गुरुङले पाेखरा ८ मा रहेकाे स्वास्थ्य प्रवर्द्वन केन्द्रमा बालकलाई भिटामिन ए खुवाउनुभयाे । महानगरपालिका भित्र स्थायी तथा अस्थायी रूपमा रहेका ३२ हजार बढी बालबालिकाहरूलाई यस अभियानले पूर्ण रूपमा समेट्ने गरी आवश्यक प्रबन्ध मिलाइएको उहाँले बताउनुभयो ।
महानगरपालिका भित्र सबै अस्पताल, सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र, स्वास्थ्य चौकी, सहरी स्वास्थ्य केन्द्र तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका मार्फत भिटामिन ए र जुकाको औषधी खुवाउने व्यवस्था गरिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकाकालाई जुकाको औषधि खुवाउन सुरु गरिएको हो ।
जस अनुसार यस पटक २१ लाख बालबालिकालाई भिटामिन ए र १९ लाख बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य छ । यसका लागि ५२ हजार भन्दा बढी स्वास्थ्य स्वयंसेविका र १५ हजारभन्दा बढी स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।