पाेखराकाे फेवा किनारमा सुरु भयाे सडक महाेत्सव

पाेखरा, पुस १३ गते ।पाेखराकाे फेवाताल किनारमा अंग्रेजी नयाँ वर्षको स्वागतमा २६औँ सडक महाेत्सव सुरु भएकाे छ ।

रेष्टुरेन्ट एशाेशिएसन(रेवान) पोखराको आयोजनामा शनिबारदेखि महोत्सव शुरु भएको हाे ।

महोत्सवको नेपाल सरकारका सुचना तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नुभयो । महाेत्सव उद्घाटन अघि हल्लनचाेकबाट सांस्कृतिक झाँकी सहित र्याली आयाेजना गरिएको थियाे । र्यालीमा विभिन्न जातजातिका संघसंस्था, आमा समूह, पर्यटन ब्यबसायी विभिन्नको सहभागीता रहेकाे थियाे ।

आयोजक समितिका अध्यक्ष विश्वराज पौडेलले पोखरामा रेवानले विगत २५ वर्षदेखि निरन्तर रुपमा सडक महोत्सव गर्दै आएको बताउनुभयाे । आन्तरिक तथा बाह्य पर्यटकलाई अङ्ग्रेजी नयाँ वर्षको गन्तव्य स्थलको रुपमा प्रवर्द्धन गर्ने उद्देश्यले पोखरा लेकसाइड क्षेत्रको करिब ३ किलोमिटर क्षेत्रमा महोत्सव आयोजना गरेको पौडेलले जानकारी दिनुभयो ।

‘सडकमै खाऊँ, सडकमै नाचौँ, सडकमै रमाऊँ’भन्ने उद्देश्यले सडक महोत्सव आयोजना गरिएको रेवानले जनाएको छ । महोत्सवले पोखराको कला/संस्कृति प्रवर्द्धन गर्न, स्थानीय स्तरमा उत्पादित सामग्रीलाई बजारीकरण र प्रचारप्रसार तथा ब्राण्डिङ गराउन पोखरा सडक महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने महोत्सव संयोजक विकास भट्टराईले जानकारी दिनुभयो ।

 

महोत्सवमा विभिन्न जातजातिका लोपोन्मुख सांस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रदर्शन, झाँकी प्रदर्शन प्रतियोगिता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शनी, लाइभ कन्सर्ट मुख्य आकर्षण रहेका छन् ।

पाँच दिनसम्म चल्ने महोत्सवमा करिब ५ लाख आन्तरिक तथा बाह्य पर्यटक आउने आँकलन रहेको आयोजकले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...