
नाटकको प्रदर्शकन इन्द्रेणी थिएटरले गर्ने थिएटरका अध्यक्ष केदारनाथ पौडेलले जानकारी दिए । उक्त नाटक ईन्द्रेणीको छैटौ प्रस्तुतीमा निर्माण हुन लागेको हो । नाटकको लेखन केदारनाथ पौडेलले नै गरेका हुन् । झण्डै एक वर्ष अगाडि लेखेको नाटकमा पोखराबाट काठमाडौं जाने यात्रुबाहक बसमा हुने विभिन्न क्रिया र प्रतिक्रियालाई समेटिएको छ । एउटा परिवारले सामान्य हिसाबले कसरी गाडी चलाएर जिविकोपार्जन गरिरहेको छ र त्यो भित्र कस्ता खालका समस्या छन् भन्ने बारेमा दर्शकलाई जानकारी दिईनेछ ।
पोखराको गैह्रापाटन स्थित रहेको पोखरा थिएटरको गन्धर्व नाटकघरमा माघ १९ गतेसम्म लगातार मञ्चन हुने नाटकमा कपिल शर्मा, दिलप्रसाद गुरुङ, विभु प्रसाद भुसाल, उमा पुन, रामहरि अधिकारी, विजयराज अधिकारी, अभिषेक भुसाल, श्रद्धा अधिकारी लगायतका कलाकारको अभिनय हेर्न पाइनेछ ।
यो नाटकको निर्देशन लक्ष्मण डुम्रेले गर्दैछन् । निर्देशक डुम्रेले नाटक सुन्दर बनाउन कलाकार र नेपथ्यबाट विभिन्न प्रयासहरु भईरहेको बताए । आफूहरूको तर्फबाट शतप्रतिशत दिने कोसिस गरिरहेका भन्दै दर्शकले नाटक मन पराउने आशा बढ्दै गएको सुनाए । नाटकमा रात्रिबस चलाउने ड्राइभरको मनोविज्ञानलाई केन्द्रित गरिएको उनको भनाइ छ । सवारी साधन चलाउँदा उसको दिमागमा खेलिरहेका कुराहरू समावेश गरिएको र यो खालको नाटक पोखरामा पहिलोपटक मञ्चन गर्न लागिएको दावी उनले गरे । स्टेजमा यात्रा देखाउनुपर्ने भएकोले चुनौती भएपनि राम्रो बनाउने कोसिस गरिरहेको निर्देशक डुम्रेले बताए ।