पाेखरा, माघ ।पोखरा विश्वविद्यालय साहित्य समाजद्वारा गत मिति २०८१ माघ ११ गते शुक्रबार निकेश गिरीको अध्यक्षता तथा रोशन तिमिल्सिनाको संयोजकत्वमा प्रथम साहित्यिक महोत्सव सम्पन्न भएको छ ।
महोत्सवको पूर्वसन्धयामा कविता प्रतियोगिता आयोजना भई उत्कृष्ट ३ जनालाई सो महोत्सवमा वाचनको अवसर साथै नगद पुरस्कार वितरण भयो । वरिष्ठ साहित्यकार सरुभक्तको प्रमुख आतिथ्यतामा आयोजना भएको कार्यक्रममा विभिन्न सत्र चरणबद्ध थिए ।
उद्धघाटनको पहिलो सत्रमा विश्वविद्यालयकै विद्यार्थीहरूको नृत्य , गायन एवम् साहित्यिक प्रस्तुति थियो। “जीवन र साहित्य ” नामक प्यानल छलफलमा वरिष्ठ साहित्यकार तीर्थ श्रेष्ठसँग दोस्रो सत्र सम्पन्न भयो ।
चर्चित गजलकार प्रदीप रोदनको तेस्रो सत्रले दर्शक तथा श्रोताहरूको उर्जालाई सबैभन्दा उच्च बिन्दुमा पुर्यायो। उनका मार्मिक र घतलाग्दा गजलहरू सामाजिक सञ्जालमा सुप्रसिद्ध छ्न् । उनको वाचनले उत्साहित भएका दर्शकहरूमा लगातार पश्चातको “१० स्रष्टा , एक आँगन” सत्रले थप उमङ्ग भरेको थियो। सो सत्रमा कवि , गजलकार तथा मुक्तककार गरी पोखराका १० साहित्यिक व्यक्तित्वहरूको प्रस्तुति थियो।
स्टेजको अघिल्लो तर्फ रहेको पुस्तक प्रदर्शन र विक्री स्टल पनि उति नै भीँडले घेरेको देख्न पाइन्थ्यो। साहित्यको रसस्वादन गरि रहेका दर्शक, श्रोतालाई साङ्गितिक सत्रको व्यापकताले कार्यक्रम स्थलमै नचायो। एक दिने महोत्सव भव्यताका साथ सम्पन्न भएकोमा सबैलाई धन्यवाद दिई महोत्सवका सभापति निकेश गिरीले कार्यक्रम समापनको घोषणा गरे।
पोखरा विश्वविद्यालयको प्राङ्गणमा सम्पन्न भएको प्रथम साहित्यिक महोत्सव-२०८१ पोख्रेली साहित्यिक जगतमै ऐतिहासिक बनेको दर्शकहरुले दाबी गरेका छन्।