पोखरा, माघ २९ गते ।सांग्रिला क्रिकेट क्लबले माछापुच्छ«े क्रिकेट क्लबलाई ३८ रनले पराजित गरेको छ । टस जितेर व्याटिङ गरेको सांग्रिलाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १२७ रन बनायो । सुदिप पौडेलले ४० रन बनाउँदै मध्यक्रममा उत्कृष्ट व्याटिङ गरेपछि सांग्रिलाले जितको लागि प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको थियो ।
कास्की जिल्ला क्रिकेट संघको आयोजनामा मंगलबार पोखरा क्रिकेट मैदानमा भएको प्रतिस्पर्धामा ओपनर विराट दुवाडीले पनि राम्रो शुरुवात गरे । २० रन बनाएका उनलाई सिब्रिन श्रेष्ठ भने १० रनमै आउट भएपछि पहिलो विकेटको लागि उनीहरुको साझेदारी टुट्यो । चौथो नम्बरका पौडेल र विपिन खत्रीले टोलीलाई उद्दार गरे । खत्रीले २५ रन बनाई एलबी डब्लु धरापमा परे । रितेश बरालले ३ र अभिषेक थापाले २ विकेट लिए ।
१२८ रनको लक्ष्य पछ्याएको माछापुच्छे भने ८९ रनमा अलआउट हुन पुग्यो । पाँचौ नम्बरमा आएका व्याटर प्रमोद बास्तोलाले २० र छैटौं नम्बरका राजु छन्त्यालले १८ रन बाहेक अन्य व्यारटको प्रदर्शन दोहोरो अंकको रन बनाउनबाट चुक्न पुगे । कृष्ण भट्टराईले तीन र सिब्रिन श्रेष्ठ तथा राज परियारले समान दुई दुई विकेट लिए । खेलमा सुदिप पौडेल प्लयेर अफ दि म्याच घोषित भए ।
कास्की जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित कास्की टी–२० क्रिकेट लिग अन्तर्गत मंगलबारको दोस्रो खेलमा खेलमा पोखरा क्रिकेट क्लबले राईजिङ क्रिकेट क्लबलाई १०३ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।
टस जितेर व्याटिङ गरेको पोखरा क्रिकेट क्लबले ८ विकेटको क्षतिमा सुवास भण्डारीको अर्धशतकीय पारीमा १६५ रनको विशाल योगफल तयार पार्यो । भण्डारीले ३५ बल खेल्दै ६८ रन बनाए । ४ चौका र ६ छक्का उनको स्कोर कार्डमा लेखियो । त्यसअघि ओपनर मुस्कान थापाले २४ रन बनाए । अर्का व्याटर रोशन पौडेलले २० रनको योगदा दिए । विमलविक्रम खत्रीले तीन विकेट लिए ।
फराकिलो जितको लक्ष्य पछ्याएको राईजिङ भने ६२ रन बनाउँदा सबै विकेट गुमायो । स्पिनर सुवास भण्डारीले ३.५ ओभरमा १२ रन खर्चिएर ४ विकेट लिएपछि राईजिङको व्याटिङ अर्डर ध्वस्त हुन पुग्यो । लोकेन्द्र गहतराजले मात्रै दोहोरो अंकको रन बनाउने क्रममा १० रन प्रहार गरेका थिए । सुवास भण्डारी खेलमा प्लयेर अफ दि म्याच घोषित भए ।