उनीसँगै बरिष्ठ अधिकृत युवराज गुरुङ र लेखा अधिकृत सागर श्रेष्ठलाई पनि टान गण्डकी साेमबार स्वागत गरेकाे हाे ।

स्वागत तथा परिचयात्मक कार्यक्रममा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका नवनियुक्त निर्देशक मणिराज लामिछानेले नेपाल पर्यटन बोर्ड टानसँग सहकार्य गर्दै पर्यटन प्रवर्द्धनमा नयाँ योजनाहरू लागू गर्न प्रतिबद्ध रहेको बताए । उनले नेपाल पर्यटनको अपार सम्भावना बोकेको देश भएकाेले यसको सही व्यवस्थापन र दीर्घकालीन रणनीति विना दिगो पर्यटन सम्भव नभएकाे उल्लेख गरे ।
‘हामी टान लगायत सम्पूर्ण पर्यटन व्यवसायीसँग सहकार्य गर्दै नयाँ पर्यटन गन्तव्यहरूको पहिचान, पदमार्गहरूको संरक्षण तथा सुधार, डिजिटल प्रवर्द्धन, र अन्तर्राष्ट्रिय स्तरमा नेपालको पर्यटन प्रवर्द्धनका लागि काम गर्नेछौं।’ उनले भने-‘हामीलाई पर्यटन क्षेत्रका चुनौतीहरू राम्ररी थाहा छ, त्यसैले टान गण्डकीसहित सबै निकायसँग हातेमालो गर्दै काम गर्न प्रतिबद्ध छौं।’
टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले नेपालमा पर्यटन प्रवर्द्धनका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताए । उनले भने, ‘नेपालको पर्यटनलाई दिगो र समृद्ध बनाउने हो भने केवल प्रवर्द्धनमात्रै होइन, योजनाबद्ध रूपमा दीर्घकालीन रणनीति अपनाउनु आवश्यक छ।’
उनले ट्रेकिङ, साहसिक खेलकुद, सांस्कृतिक पर्यटन, ग्रामीण पर्यटन र नयाँ पर्यटकीय गन्तव्यहरूको पहिचान गर्दै अन्तर्राष्ट्रिय बजारमा प्रचार-प्रसार गर्न आवश्यक रहेकाे बताए । यसका लागि नेपाल पर्यटन बोर्ड, टान, र अन्य सम्बद्ध संस्थाबीच अझ समन्वय हुनु आवश्यक रहेकाे उनकाे भनाई छ।
निजी क्षेत्रको सक्रिय सहभागिता बिना पर्यटनको समृद्धि असम्भव बताउँदै उनले सरकारबाट पनि आवश्यक नीति र सहयोगकाे अपेक्षा गरे ।
टानका प्रथम उपाध्यक्ष तिर्थराज सुवेदीले नेपाल पर्यटन प्रवर्द्धनको जिम्मेवारी केवल सरकारको मात्र नभएर निजी क्षेत्र, स्थानीय समुदाय, र पर्यटन व्यवसायीहरूको पनि रहेको उल्लेख गरे ।
टान गण्डकी सचिवालय लेकसाइडमा सम्पन्न कार्यक्रमकाे सञ्चालन टान गण्डकीका सह सचिव भुपेन्द्रकुमार लामाले गरेका थिए । कार्यक्रममा टान गण्डकीका पदाधिकारी तथा सदस्यहरुकाे उपस्थिति रहेकाे थियाे ।