पोखरा, फागुन २० गते ।पोखरा महानगरपालिका दोश्रो अन्तर क्लव पुरुष टि–२० क्रिकेट प्रतियोगिता २०८१ मा कास्की क्रिकेट क्लवले बिजयी शुरुवात गरेको छ ।
पोखरा महानगरपालिका शिक्षा महाशाखाको आयोजना तथा पोखरा महानगरपालिका क्रिकेट संघको संयोजन तथा व्यवस्थापनमा आजदेखि लेखानाथस्थित ईडेन हेभेन क्रिकेट मैदानमा शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा अरण्यज्योति क्रिकेट क्लवलाई ७४ रनले पराजित गर्दै कास्की क्रिकेट क्लवले बिजयी शुरुवात गरेको हो ।
टस जितेर पहिले व्याटिङमा उत्रिएको कास्की क्रिकेट क्लवले निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाएर २०० रन बनाएको थियो । उसका लागि आदित्य थापाले विष्फोटक पारी खेल्दै ५७ बलमा १०७ रनको योगदान दिए । उनलाई सफल श्रेष्ठले ३६ बलमा ४२ रन जोड्दै साथ दिएका थिए ।
२०१ रनको विशाल लक्ष्य पछ्याएको अरण्यज्योति क्रिकेट क्लवले पूरै ओभर खेलेर अलआउट हुँदै केवल १२६ रन मात्र बनाउन सक्यो । उसका लागि बिधान श्रेष्ठले विष्फोटक पारी खेल्दै २० बलमा ३२ रन बनाउनुबाहेक अन्यले सम्झन लायक पारी खेल्न सकेनन् ।
आजको उद्घाटन खेलमा विष्फोटक पारी खेलेका कास्की क्रिकेट संघका आदित्य थापा प्लेयर अफ दी म्याच घोषित भए ।
यसअघि प्रतियोगिताको कास्की क्रिकेट संघका अध्यक्ष बिरेन्द्र पुनले उद्घाटन गरेका थिए । उनले अम्पायर प्रदीप तामाङलाई क्रिकेट बल दिएर उद्घाटन गरेका हुन् ।
फागुन २५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको बिजेता तथा उपबिजेता टिमलाई ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । त्यसैगरी हरेक खेलमा म्यान अफ द म्याच, म्यान अफ द सिरिज, बेष्ट व्याटर, वेष्ट बलर लगायतलाई पुरस्कार प्रदान गरिने पोखरा महानगरपालिका क्रिकेट संघका अध्यक्ष बिरेन्द्र पुनले जानकारी दिए ।