पाेखरा, बैशाख २ गते ।पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखामा तालाबन्दी गरिएको छ । करार सेवाबाट निष्कासन गरिएका स्वास्थ्यतर्फका ५८ जना कर्मचारीले मंगलबार महाशाखा प्रवेश गर्ने च्यानल गेटमा तालाबन्दी गरेका हुन् । महानगरले करारबाट निकाल्ने घोषणा गरेपछि स्वास्थ्यतर्फका कर्मचारी माघ २६ गतेदेखि आन्दोलित छन् ।
उनीहरुले सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि हाजिर गर्न कार्यालय पुगेका थिए । तर महानगरले हाजिर गर्न नदिएपछि कार्यालय परिसरमा धर्ना गर्दै आएका थिए ।
झण्डै दुई महिना धर्ना दिदा पनि महानगरले काममा फर्कन नदिएकाले स्वास्थ्य महाशाखामा तालाबन्दी गरिएको हाे ।करार सेवामा रहेका ५८ जना कर्मचारीलाई पोखरा महानगरपालिकाको नगरसभाले पुसदेखि हटाउने निर्णय गरेको थियो । महानगरको निर्णय विरुद्ध उनीहरु माघ १ गते सर्वोच्च अदालत पुगेका थिए । अदालतले तत्काल कर्मचारी नहटाउन अल्पकालीन अन्तरिम आदेश जारी थियाे । तर, पनि पोखरा महानगरपालिकाले हाजिर हुन नदिएको भन्दै करारमा काम गर्दै आएका कर्मचारी निरन्तर धर्ना दिएकामा आज तालाबन्दी गरेका हुन् ।
महानगरले सर्वोच्च अदालतको अन्तिरिम आदेश अपहेलना गरेको भन्दै रिटसमेत दर्ता गरेका छन् । मेयर र प्रमुख प्रशासकीय अधिकृत र कार्यालयलाई विपक्षी बनाइएको छ । सर्वोच्चले गत मङ्सिर २८ गते ‘विशेष नगरसभाले गरेको निर्णयलाई यथास्थितिमा राख्नु’ भन्ने अन्तरिम आदेश जारी गरेको छ ।
सर्वोच्च अदालतको आदेश अनुसार कार्यालयमा पुनः हाजिर हुन पाउनुपर्ने माग उनीहरुले गरेका छन भने महानगर हाजिर गराउने पक्षमा देखिएको छैन ।विषेश गरि महानगरमा काँग्रेस निकट वडा अध्यक्षहरुकाे दबाबका कारण हाजिर नगराएकाे महानगरकै एक कर्मचारीले बताए ।