पोखरा, बैशाख । नेपाल सुपर लिग उपविजेता पोखरा थन्र्डसका खेलाडीलाई पाेखरामा स्वागत तथा बधाई ज्ञापन गरिएकाे छ। पाेखरा रंगशालामा आयाेजित कार्यक्रममा खेलाडी तथा अफिसियलहरुलाई खादा लगाएर स्वागत तथा बधाई ज्ञापन गरिएको हाे ।
पाेखरा महानगरका मेयर धनराज आचार्य, पाेखरा १५ का वडाअध्यक्ष ताेरण बानियाँ लगायतले खादा लगाइ दिनुभयाे ।साेही कार्यक्रममा उपविजेताकाे ट्रफीलाई पोखरा महानगरपालिकालाई हस्तान्तरण समेत गरियो । प्रमुख धनराज आचार्यलाई हस्तान्तरण गरिएको हाे ।
प्रमुख आचार्यलाई पोखरा थन्डर्सका मुख्य प्रशिक्षक सुमन श्रेष्ठ लगायत पोखरा थन्डर्सका पदाधिकारीले ट्रफी हस्तान्तरण गर्नुभएको हाे । सोमबार पोखरा रंगशालामा आयोजित बधाई तथा स्वागत कार्यक्रममा पोखरा महानगरपालिका प्रमुख आचार्यले आगामी सिजनको सुपर लिगलाई पोखरामा पनि आयोजना गर्ने तर्फ सरोकार निकायसँग छलफल भइरहेको बताउनुभयाे । पोखरा रंगशालामा सन्ध्याकालिन समयमा खेलाउन अत्यावश्यक फ्लड लाईट जडान नहुदाँ राष्ट्रिय तथा अन्तराष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न कठिनाई भएको गुनासो फुटबलप्रेमीले गर्दै आएका छन् ।
पोखरा थन्डर्सका मुख्य प्रशिक्षक सुमन श्रेष्ठले पोखराको फुटबल विकासमा पोखरा थन्डर्स कतै नचुक्ने स्पष्ट पार्नुभयाे । उहाँले पोखरा थन्डर्सलाई गरेको साथ सहयोगकै कारण उपविजेता बनेको भन्दै आगामी सिजन अझै गृहकार्य गरेर उपाधि उचाल्ने प्रतिबद्धता गर्नुभयाे ।
उपविजेता बनेर पोखरा आईपुगेको टोलीले पोखरा रंगशाला फुटबल मैदानसहितको पूर्वाधार अवलोकन गरेको थियो । १ अर्ब २८ करोड लागतमा निर्माण गरिएको फुटबलको पूर्वाधारमा रात्रीकालिन खेलको लागि फ्लड लाईट जडान गर्नुपर्ने आवश्यकता छ । महानगरपालिका पनि पूर्वाधार बनाउने तर्फ मौन रहेको छ । कार्यक्रममा खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था, पोखरा महानगर खेलकुद विकास समितिका निर्वतमान अध्यक्ष दिपकबहादुर गोदार लगायतले बाेल्नु भएकाे थियाे ।