पोखरा। गणतन्त्र दिवस २०८२ को अवसरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) वडा कमिटी, पोखरा–५ द्वारा “संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास: आजको प्रमुख सवाल” भन्ने विषयमा विशेष प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रम वडा कमिटी अध्यक्ष कमरेड लक्ष्मण बरालको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रममा नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री कमरेड खगराज अधिकारीले प्रमुख प्रशिक्षण दिँदै गणतन्त्र स्थापना तथा संस्थागत विकासमा पार्टी र सहिदहरूको ऐतिहासिक योगदानका विषयमा प्रकाश पार्नुभयो। उहाँले गणतन्त्र स्थापनापछि देशमा भएका आमूल परिवर्तनहरूप्रति पनि चर्चा गर्दै गणतन्त्रलाई अझ बलियो बनाउन आवश्यक कदमहरूबारे प्रशिक्षण दिनुभयो।
कार्यक्रममा पोखरा महानगर कमिटी अध्यक्ष जीवन आचार्यले स्वागत मन्तव्य दिँदै वंशगत सत्ता र पुरातनवादी सोचको शासन प्रणालीले देशको समुन्नति गर्न नसक्ने कुरामा जोड दिनुभयो। उहाँले लोकतान्त्रिक व्यवस्था मात्र विकास र समावेशीतर्फ अग्रसर हुने बताउनुभयो।
वडा कमिटी अध्यक्ष लक्ष्मण बरालले आफ्नो मन्तव्यमा देश संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसकेको अवस्थामा समेत केही समूहले पुनः राजतन्त्र फर्काउने कुचेष्टा गरिरहेकोप्रति आपत्ति जनाउँदै संविधानतः त्यस्तो सम्भव नहुने स्पष्ट पार्नुभयो। उहाँले राजा वीरेन्द्रको वंशविनाशपछि देशमा राजतन्त्र विधिवत् रूपमा अन्त्य भइसकेको उल्लेख गर्दै, गणतन्त्र स्थापनाका लागि भएका संघर्ष र सहिदहरूको बलिदान स्मरण गर्न सबैलाई आग्रह गर्नुभयो।
कार्यक्रममा वडा–५ बाट नेकपा (एमाले) को प्रदेश, जिल्ला र महानगर कमिटीमा प्रतिनिधित्व गर्ने सम्पूर्ण नेताहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन वडा कमिटी सचिव बसन्त गौतमले गर्नुभएको थियो भने स्वागत उपाध्यक्ष पान प्रसाद तिमिल्सिनाले गर्नुभएको थियो।
गणतन्त्र दिवसको अवसरमा आयोजित यस कार्यक्रमले लोकतान्त्रिक मूल्य र गणतान्त्रिक उपलब्धिलाई सुदृढ पार्ने दिशामा सन्देश दिएको सहभागीहरूको भनाइ थियो ।