स्याङजा गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेटको फाइनलमा

पोखरा–२ असार । कप्तान सन्दिप क्षेत्रीको कप्तानी इनिङस्मा स्याङजा गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेटको फाइनलमा स्थान बनाएको छ । एक रनले शतकबाट चुकेका सन्दीपले उत्कृष्ट ब्याटिङ गर्दै ६६ बलमा ६ चौका र ८ छक्कासहित ९९ रन बनाए । टोलीलाई फाइनलमा पुर्याउन भूमिका खेलेका उनी म्यान अफ दि म्याच समेत बने । नरेश शाहीको बलमा चन्द्रकान्त पौडेलको हातबाट उनी क्याच आउट भए ।

पोखरामा जारी तेस्रो गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेट प्रतियोगिता २०८२ अन्तर्गत समूह ‘ए’ बाट स्याङजा फाइनलमा प्रवेश गरेको छ । प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको प्रवद्र्धनमा जारी प्रतियोगिताको लिग चरणअन्तर्गत स्याङ्जाले पारीको सुरूवात गर्दै तनहुँ विरुद्ध २० ओभरमा ८ विकेट गुमाएर १८८ रनको चुनौतीपूर्ण योगफल प्रस्तुत गरेको थियो । तर स्याङजा १५९ रनमा समेटिंदा २९ रनले बिजयी हुँदै स्याङजा फाइनलमा पुगेको हो ।

 

टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको स्याङ्जाको सुरुवात भने राम्रो भएन । ओपनर करण पंगेनी खाता नखोली दोस्रो बलमै पेवेलियन फर्किए । त्यसपछि ईश्वर क्षेत्री (२९ रन, २१ बलमा) र कप्तान सन्दीप क्षेत्री बीच दोस्रो विकेटका लागि सशक्त साझेदारी गरे ।

 

मध्यक्रममा अंकित न्यौपानेले १८ बलमा ३७ रन बनाउँदै आक्रामक योगदान गरे । इनिङ्सको अन्त्यतिर प्रदीप पाण्डेले २ बलमा ८ रन बनाउँदै स्याङ्जाको स्कोरलाई १८८ सम्म पु¥याए । तनहुँका लागि बलिङमा चन्द्रकान्त पौडेलले ४ ओभरमा ३३ रन दिँदै २ विकेट लिए भने नरेश शाहीले पनि प्रभावशाली प्रदर्शन गर्दै २ विकेट लिए । कृष ऐयर र प्रदीप यादवले एक–एक विकेट लिए ।

 

यता जवाफी व्याटिङ गरेको तनहुँले १८९ रनको लक्ष्य पछ्याउँदै १९.३ ओभरमा सम्पूर्ण १० विकेट गुमाउँदै १५९ रन मात्रै बनाउन सक्यो । स्याङ्जाको उत्कृष्ट बलिङ प्रदर्शनका कारण तनहुँ २९ रनले पराजित हुन पुगेको हो ।

 

तनहुँका ओपनर दिपेश अधिकारीले आक्रमक सुरुआत गर्दै ८ बलमा १३ रन बनाए तर त्यसपछि विकेटको पतन रोक्न सकेन । क्रिश अयर शून्य रनमा आउट भए । समीर कंडेलले २९ बलमा ४० रनको योगदान दिए भने बंश क्षेत्रीले ६ चौका प्रहार गर्दै ४५ बलमा सर्वाधिक ५६ रन बनाए ।

 

व्याटरहरु मध्ये सौरभ कुशुवाहले ८ बलमा ११, नरेश शाहीले ११ बलमा ११ रन बनाए । तर अन्य खेलाडीहरू दोहोरो अंकमा पुग्न सकेनन् ।

 

स्याङ्जाको तर्फबाट अंकित न्यौपाने सबैभन्दा प्रभावशाली बलर बने । उनले ४ ओभरमा ३३ रन खर्चिएर ४ विकेट लिए । करण पंगेनीले ३ विकेट हात पारे भने सन्दीप खत्री क्षेत्रीले १ विकेट लिए । तुलसीराम भण्डारीले ६.५० को इकोनोमी रेटमा ४ ओभर बलिङ गर्दै विपक्षी ब्याट्सम्यानलाई दबावमा राखे ।

 

बागलुङको सान्त्वना जित

गण्डकी प्रदेशस्तरीय तेस्रो पुरुष टि–२० क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा बागलुङले म्याग्दीलाई ८ विकेटले पराजित गर्दै प्रतियोगितामा सान्त्वना जित हात पारेको छ । समुह एको लिग चरणको अन्तिम खेलमा बाग्लुङ आफ्ना कुल तीन खेलमा दुईमा हार र एकमा जित गरी कुल २ अंकका साथ समुहमा तेस्रो स्थानमा रहँदा म्याग्दी अंक विहिन बन्न पुग्यो ।

 

वर्षाका कारण् घटाइएको १० ओभरको छोटो खेलमा म्याग्दीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । निर्धारित १० ओभरमा म्याग्दीले ३ विकेट गुमाउँदै ६४ रन मात्र बनायो । म्याग्दीका लागि दिनेश क्षेत्रीले १८ बलमा १८ रन तथा सागर कटुवालले ११ बलमा १५ रन बनाए । रोशन कार्कीले पनि १३ रनको योगदान दिए । बागलुङका बलरहरूमध्ये आश्विन थापाले २ ओभरमा ५ रन खर्चेर १ विकेट लिए भने कुशल खड्काले २ ओभरमा १ विकेट लिँदै ९ रन मात्र दिए ।

 

जवाफी ब्याटिङमा बागलुङले ५.३ ओभरमै २ विकेट गुमाउँदै लक्ष्य पुरा ग¥यो । बागलुङका लागि सन्दीप यादव २० रनमा अविजित रहे भने खेलको तुफानी पारी खेल्दै सचिनराज अधिकारीले ११ बलमा ३१ रन (३ चौका, ३ छक्का) प्रहार गर्दै ’प्लेयर अफ द म्याच’ बन्न सफल भए । म्याग्दीका बलर रोशन कार्की र हरि सुवेदीले समान १–१ विकेट लिए ।

 

भोली (मंगलबारबाट समुह ‘बी’ अन्तर्गतका खेलहरु सञ्चालन हुनेछन् । जस मध्ये पहिलो खेल कास्की र पर्वत तथा दोस्रो खेल नवलपुर र गोरखाका बीच हुनेछ । समुह बीको बिजेताले फाइनलमा स्याङजा संग प्रतिस्पर्धा गर्नेछ ।

 

पोखरा रंगशालास्थित क्रिकेट खेल मैदानमा जारी प्रतियोगिता दुई समूहमा विभाजनमा गरि सञ्चालन भएको छ । समूह ‘ए’ मा स्याङजा, बाग्लुङ, तनहुँ र म्याग्दी रहँदा समूह ‘बी’ मा कास्की, नवलपुर, पर्वत र गोरखा रहेका छन् । प्रत्येक दिन दुई खेल हुने गरी तालिका तय गरिएको संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए ।

 

प्रतियोगिताको विजेता टिमले नगद रु १ लाख, उपविजेताले रु ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै, उत्कृष्ट खेलाडीलाई रु ४ हजार, उत्कृष्ट ब्याटर, बलर र उदियमान खेलाडीलाई जनही रु २ हजारसहित ट्रफी प्रदान गरिनेछ । हरेक खेलको ‘प्लेयर अफ द म्याच’ ले रु १ हजार नगद र ट्रफी प्राप्त गर्ने प्रतियोगिताका संयोजक ऋषीराम गौतमले बताए ।

 

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...