पोखरामा अन्तर कलेज क्रिकेट लिग कप–२०८२ हुने

पोखरा, असार १७ ।पोखरामा भोलिदेखि कलेज स्तरिय क्रिकेट प्रतियोगिता हुने भएको छ । पोखराका विभिन्न क्याम्पसहरुमा रहेका क्रिकेटका प्रतिभाहरुको खोजी गर्नका लागि पोखरा महानगरपालिका क्रिकेट संघको आयोजनामा असार १८ गते भोलिदेखि असार २४ गतेसम्म अन्तर कलेज क्रिकेट लिग कप–२०८२ हुने भएको हो ।

पोखराको लेखनाथस्थित ईडन हेभन क्रिकेट मैदानमा हुने प्रतियोगितामा ५ टिम सहभागि हुने आयोजक पोखरा महानगरपालिका क्रिकेट संघले जनाएको छ । कंगारु एजुकेसन कन्सल्टेन्सी प्रालिको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा पोखरा विश्वविद्यालय (पियू), पृथ्वीनारायण क्याम्पस (पिएन), गण्डकी विश्वविद्यालय (जियू), जनप्रिय बहुमुखी क्याम्पस (जेएसी) र पश्चिमाञ्चल ईञ्जिनियरिङ क्याम्पस (डब्लुआरसी)ले सहभागिता जनाउने संघका अध्यक्ष बिरेन्द्र पुनले जानकारी दिए ।

 

क्रिकेट लिग प्रतियोगिताको उद्घाटन खेलमा भोलि पृथ्वीनारायण क्याम्पस र पोखरा विश्वविद्यालय आमनेसामने हुनेछन् भने भोलि नै हुने दोस्रो खेलमा पश्चिमाञ्चल ईञ्जिनियरिङ कलेज र गण्डकी विश्वविद्यालय प्रतिष्पर्धामा उत्रिने अध्यक्ष पुनले बताए ।

 

प्रतियोगिताको दोस्रो दिन असार १९ गते पहिलो खेलमा पश्चिमाञ्चल ईञ्जिनियरिङ क्याम्पसले पोखरा विश्वविद्यालय तथा दोस्रो खेलमा जनप्रिय क्याम्पसले पृथ्वीनारायण क्याम्पससँग प्रतिष्पर्धा गर्ने उनले जानकारी दिए । तेस्रो दिन असार २० गते पहिलो खेलमा पोखरा विश्वविद्यालय र जनप्रिय क्याम्पस तथा दोस्रो खेलमा पृथ्वीनारायण क्याम्पस र गण्डकी विश्वविद्यालय आमनेसामने हुनेछन् ।

 

चौथो दिन असार २१ गते पहिलो खेलमा पश्चिमाञ्चल ईञ्जिनियरिङ क्याम्पस र जनपिय क्याम्पस तथा दोस्रो खेलमा गण्डकी विश्वविद्यालय र पोखरा विश्वविद्यालय प्रतिष्पर्धामा उत्रिनेछन् ।

 

पाँचौं दिन असार २२ गते पहिलो खेलमा पृथ्वीनारायण क्याम्पस र पश्चिमाञ्चल ईञ्जिनियरिङ क्याम्पस तथा दोस्रो खेलमा गण्डकी विश्वविद्यालय र जनप्रिय बहुमुखी क्याम्पसबीच प्रतिष्पर्धा हुने अध्यक्ष पुनले जानकारी दिए ।

 

प्रतियोगिताको अन्तिम दिन असार २४ गते उपाधिका लागि फाइनल प्रतिष्पर्धा हुने जनाइएको छ । जसमा लिगको पहिलो र दोस्रो स्थानमा रहेका दुई टिम उपाधिका लागि प्रतिष्पर्धामा उत्रिने उनले बताए ।

 

पोखरालाई खेलकुदको सहरको रुपमा स्थापित गर्ने, खेलकुद र संस्कृतिको प्रवद्र्दन गर्दै क्षेत्रीय तथा राष्ट्रिय स्तरमा पोखराको उपस्थिति बलियो बनाउने तथा युवायुवतीलाई ईन्टरनेट, मोवाइल तथा भिडियो गेमको लतबाट निकालेर प्रविधिमैत्री तरिकाले शारिरिक गतिविधिमा संलग्न गराई मानसिक र शारिरिक रुपमा तन्दुरुस्त बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष पुनले बताए । उनले भने,‘अहिलेका युवा ईन्टरनेट, मोवाइल, ल्यापटप, भिडियो गेममा लिप्त हुँदा शारिरिक र मानसिक रोगको सिकार भएका छन् । उनीहरुलाई त्यस लतबाट बाहिर निकालेर शारिरिक र मानसिक रुपमा स्वस्थ बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरेका हौं’–उनले भने । खेलबाट खेलाडीले अनुशासन र सामुहिकता (टिम स्पिरिट)पनि सिक्ने उनको भनाई छ ।

 

प्रतियोगिताको बिजेताले नगद ३० हजारसहित ट्रफी तथा उपबिजेताले नगद १५ हजारसहित ट्रफी प्राप्त गर्ने जनाइएको छ । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर तथा हरेक खेलमा प्लेयर अफ दी म्याच घोषणा गरी ट्रफी प्रदान गरिने उनले जानकारी दिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...