पाेखरा,असाेज २८ गते । पाेखराकाे दुई ठूला स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी आन्दोलनमा उत्रेका छन्।
तलव वृद्धिको माग गर्दै पोखराको नयाँबजारस्थित गण्डकी मेडिकल कलेज (जीएमसी) र पाेखरा ११ फुलबारीमा रहेकाे मणिपाल शिक्षण अस्पतालका नर्सहरु आन्दोलनमा उत्रेका हुन् । पछिल्लो ५ दिनदेखि मणिपाल शिक्षण अस्पतालका नर्सले गरिरहेको आन्दोलन जारी रहेकै अवस्थामा अर्को ठूलो निजी मेडिकल कलेज जीएमसीमा पनि सोमबार साँझदेखि नर्सहरुकाे आन्दोलन सुरू भएको हो ।
दिनभर आफ्ना माग सुनाउन नर्सहरुको समूह अस्पताल प्रशासन र मेडिकल सुपरीटेन्डेन्टकहाँ पुगे पनि सुनुवाइ नभएपछि आन्दोलित बनेका हुन् ।
नर्सहरुले साँझ एक घण्टा प्लेकार्डसहित नाराबाजी गरे । उनीहरुले ‘श्रम शोषण बन्द गर्’, ‘नेपाल सरकार न्याय दे’लगायत नारा लगाए । ‘हामी मेसिन होइनौं’, ‘नो नर्स, नो हेल्थ केयर’, ‘हामीलाई न्याय चाहियो’, ‘नर्सिङ पेसा बचाऔं’लगायत नारा लेखिएका प्लेकार्ड बाेकेर आन्दोलनमा सहभागी भएका थिए।
नर्सहरुले केही वार्डको सेवा हिजाे सोमबार साँझदेखि आंशिक रुपमा ठप्प पारेका छन् । बुधबार दिउँसो १ बजेसम्म माग पूरा नभए पूर्ण रुपमा पेनडाउन गर्ने उनीहरुले बताएका छन्। ‘अर्थो वार्ड, गाइनो, एचसीयूमा हामीले अहिल्यैदेखि पेनडाउन गरिसक्यौं,’ ती नर्सले भनिन्, ‘हाम्रो माग बुधबार दिउँसोसम्म पूरा नभए आईसीयू, सीसीयू, एनआइसीयू, डायलासिस, इमर्जेन्सीमा पनि पेनडाउन गर्छौं ।
जीएमसीमा करिब साढे ३ सय नर्स कार्यरत छन् । सरकारले ०८१ मंसिर २७ मा स्वास्थ्य संस्थामा कार्यरत नर्सिङ र स्वास्थ्यकर्मीको पारिश्रमिक, सेवा–सुविधा सरकारीसरह नघट्ने गरी लागू गर्नुपर्ने निर्णय गरेको थियो । साेही निर्णय अनुसार तलव माग गर्दै आन्दोलनमा नर्सहरु सहभागी भएका हुन्।