माछापुच्छ्रे गाउँपालिका पर्यटकका लागि उत्कृष्ट गन्तव्य

पाेखरा, कात्तिक २३ गते ।कास्कीको पर्यटकीय स्थान माछापुच्छ्रे गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा पत्रकारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजना तथा माछापुच्छ्रे गाउँपालिका कार्यालयको समन्वयमा शनिबार माछापुच्छ्रे ६ हेम्जाकोटमा शनिबार सम्पन्न भएको हो ।

अन्तरक्रियामा गाउँपालिका, स्थानीय निकाय, स्थानीय, पत्रकार तथा सरोकारवालाहरुको सहभागिता थियो । सहभागीहरूले माछापुच्छ्रे गाउँपालिकाभित्र रहेका पर्यटन सम्भावना र चुनौती विषयमा धारणा व्यक्त गरेका थिए । त्यस्तै कार्यक्रमका वक्ताहरूले पत्रकारहरूले गाउँपालिकाका पर्यटकीय सम्पदा, संस्कृतिको संरक्षण तथा प्रचारमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मिनबहादुर गुरुङले गाउँपलिकाको पर्यटकीय गन्तव्यको प्रचुर सम्भावना रहे पनि प्रचारप्रसार नहुँदा ओझेलमा परेको बताए । विभिन्न पर्यटकीय गन्तव्यलाई व्यवस्थित बनाई नयाँ गन्तव्यको समेत खोजि भैरहेको र आन्तरिक पर्यटक धेरै आउने गाउँपालिकाका गन्तव्यमा विदेशी पर्यटकलाई आकर्षण गर्ने योजनामा गाउँपालिका अगाडी बढेको उनले जनाए ।

 

त्यस्तै गाउँपालिका उपाध्यक्ष सिता अधिकारीले गाउँपालिकाको समग्र पर्यटन विकासका लागि आवश्यक सुझाव दिन आह्वान गरिन् । यता गाउँपालिकाकै प्रमुख प्रशासकीय अधिकृत केशव सुवेदीले गाउँपालिका पर्यटनको सम्भावना निकै रहेको र स्थानीय नागरिकले गाउँपालिकासँग गर्ने सहजीकरण निकै सह्रानीय रहेको बताए । अन्तरक्रियामा पत्रकार र स्थानीयबाट उठेको प्रश्नको जवाफ गाउँपालिकाले दिएको थियो ।

त्यसैगरि नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबि आस्था मगरले पत्रकार, पालिका र स्थानीयबीच भएको अन्तरक्रियाले समन्वय सुदृढ बनाई पर्यटन प्रवद्र्धनमा ठोस योगदान पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा हेम्जाकोट सामुदायिक होमस्टेका अध्यक्ष इश्वर गुरुङ, माछापुच्छ्रे गाउँपालिका वडा ५ का अध्यक्ष नारायण पौडल, वडा ६ का अध्यक्ष टेकनाथ गौतम, खेलकुद विकास समिति माछापुच्छ्रे गाउँपालिकाका सदस्य सचिव होमबहादुर गुरुङ, नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराललगाएतले मन्तव्य राखेका थिए ।
कार्यक्रमको सञ्चालन मञ्चका महासचिव परशुराम शर्माले गरेका थिएभने स्वागत मन्तव्य मञ्चका उपाध्यक्ष राजाराम पौडेलले राखेका थिए ।
सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...