पोखरा । नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले पर्यटनसम्बन्धी स्पष्ट र प्रभावकारी नीति निर्माणको आवश्यकता औँल्याउँदै त्यसका लागि मिडियाले निरन्तर झक्झक्याउनुपर्ने खाँचो रहेको बताएकी छन्।

गण्डकी प्रदेशमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले पर्यटकलाई आकर्षित गर्ने खालका भौतिक तथा संरचनागत विकासमा ध्यान दिनुपर्नेमा जोड दिइन्। उनले नेपाली भाषासँगै अंग्रेजी भाषामा पनि गुणस्तरीय कन्टेन्ट निर्माण गरी अन्तर्राष्ट्रिय बजारसम्म पर्यटन प्रवर्द्धन गर्नुपर्ने आवश्यकता औँल्याइन्।
पर्यटन क्षेत्रमा नकारात्मक सन्देश दिन नहुने उल्लेख गर्दै अध्यक्ष शर्माले सकेसम्म सकारात्मक विषयलाई प्राथमिकतामा राखेर समाचार सम्प्रेषण गर्नुपर्ने धारणा व्यक्त गरिन्। “नकारात्मक कुरा सधैँ रहिरहन्छन्, त्यसैले सकारात्मक पक्षलाई अघि सारेर देशको छवि निर्माण गर्नु आजको आवश्यकता हो,” उनले भनिन्।
कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले निरन्तरताको कर्मबाट नै ठूला उपलब्धि हासिल हुने उल्लेख गर्दै पर्यटन प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय मिडियाबाट समेत प्रचार–प्रसार गर्नुपर्ने बताए। उनले गण्डकी प्रदेशले पर्यटनको नेतृत्व गरिरहेको भए पनि अन्य प्रदेशहरूको सहकार्य अपरिहार्य रहेको धारणा राखे।
पोखरा पर्यटन परिषद्का उपाध्यक्ष हरि भुजेलले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका कामहरू भइरहेका जानकारी दिँदै पत्रकारमार्फत पोखरालाई चिनाउने अभियान प्रभावकारी बन्दै गएको बताए। उनले धार्मिक तथा पर्यटकीय क्षेत्रको पौराणिक महत्व अझै प्रभावकारी रूपमा बुझाउन नसकिएको स्वीकार गरे।
रेवान पोखराका महासचिव वीरेन्द्र शेरचन, टानका अध्यक्ष कृष्ण आचार्य, नाटाकी प्रथम उपाध्यक्ष संगिता पौडेल लगायतले पर्यटन प्रवर्द्धनमा मिडियाको भूमिका अत्यन्त सकारात्मक र महत्वपूर्ण रहेको बताए। संगिता पौडेलले मिडियाविना पर्यटन प्रवर्द्धन सम्भव नहुने उल्लेख गर्दै समृद्धिका लागि पर्यटनसम्बन्धी संघसंस्थामार्फत सक्रिय रूपमा काम गरिरहेको जानकारी दिइन्।
प्रेस चौतारी गण्डकी प्रदेशका अध्यक्ष इन्द्र पौडेल लगायतले पनि कार्यक्रममा आफ्ना धारणा राखेका थिए।कार्यक्रम नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन महासचिव जमुना शर्माले गरेकी थिइन्।