सुन्तलाले पहेँलपुर पाेखरा-२१, पुस १० गते सुन्तला महाेत्सव हुने

एकराज गिरी/पाेखरा,पुस ९ गते ।पोखराका डाँडाकाँडा यस वर्ष सुन्तलाले झन् पहेँलपुर देखिन्छन्। हावासँगै आउने सुन्तलाको सुवास मात्र होइन, त्यसले बोकेको आर्थिक आशाले पनि यहाँका कृषकहरू उत्साहित छन्।


पोखरा महानगरपालिका वडा नं. २१ हर्पन दोपरेका किसान इन्द्रप्रसाद सुवेदी सुन्तला खेतीमार्फत आत्मनिर्भर बन्दै गएका छन्। उनी हाल वडा नं. २१ कृषक समूह तथा सुन्तला किसान कृषक समूहका अध्यक्षसमेत हुन्।

सुवेदीका अनुसार पोखरा उपत्यकाका केही स्थानमा सुन्तलामा रोगका लक्षण देखिए पनि समग्रमा उत्पादन राम्रो रहेको छ। “हेर्दा सुन्तला सुन्दर र स्वस्थ देखिन्छ। अरु ठाउँको तुलनामा यहाँका बोटबिरुवा ४०–४४ वर्षसम्म पनि टिक्ने सम्भावना देखिन्छ,” उनले भने।

सुन्तला खेतीबाट सन्तुष्ट सुवेदी विदेशमा रहेका र स्वदेश फर्किएका युवालाई आफ्ना बारी बाँझो नराख्न आग्रह गर्छन्। “देश छोडेर गएका साथीहरूलाई भन्छु—यहाँको जमिन बाँझो नराखौँ, सुन्तला रोपौँ। यहाँ सुन फल्छ,” उनले उत्साहका साथ भने।

स्वयं सुवेदी पनि लामो समय विदेशमा बसेपछि नेपाल फर्किएका हुन्। फर्किएपछि सुन्तला खेती सुरु गरेका उनले अहिले राम्रो आम्दानी गर्न सफल भएका छन्। “विदेशबाट फर्किएर यही खेतीमा लागें। केही लाभ निकाल्न सफल भएँ, घरखर्च सहजै चलेको छ,” उनले अनुभव सुनाए।

उनका अनुसार करिब १० वर्षदेखि उनको बारीबाट सुन्तला बिक्री हुँदै आएको छ। हालसम्म लाखौँ रुपैयाँ बराबरको सुन्तला बिक्री भइसकेको छ भने नयाँ बिरुवाहरू पनि रोपिएको छ। समग्र सुन्तला उत्पादनको अनुमानित मूल्य करोड रुपैयाँ हाराहारी पुगेको सुवेदीको भनाइ छ।

पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखाका प्रमुख मनोहर मनहर कडरियाका अनुसार यस वर्ष पोखरा क्षेत्रमा सुन्तला असाध्यै राम्रो फलेको छ।

“यो वर्ष बगैंचा र उत्पादन हेर्दा हामी निकै खुसी छौं,” कडरिया भन्छन्, “अब सुन्तला खेतीलाई थप विस्तार गर्नुपर्ने आवश्यकता स्पष्ट देखिएको छ।”

पोखरा महानगरपालिकाका आर्थिक विकास महाशाखा प्रमुख मनोहर मनहर कडरियाले पोखरा क्षेत्रमा यस वर्ष सुन्तला राम्रो फलेको बताएका छन्। सुन्तलाको बगैंचा र उत्पादन हेर्दा अब यसको थप विस्तार गर्नुपर्ने आवश्यकता महसुस भएको उनको भनाइ छ।

पोखराको करिब ३ सय हेक्टर क्षेत्रफलमा सुन्तला र कागती खेती हुँदै आएको छ। विशेषगरी पोखरा महानगरपालिका वडा नं. २१ र २२ सुन्तलाको मुख्य पकेट क्षेत्रका रूपमा परिचित छन्। ती क्षेत्रमा ४५० देखि ५०० जना कृषक सुन्तला खेतीमा संलग्न छन्।

प्रत्येक कृषकले न्यूनतम ५० हजार रुपैयाँ बराबरको सुन्तला बिक्री गर्ने अनुमान गरिएको छ। यस आधारमा कुल उत्पादन ३ हजार ५०० देखि ४ हजार मेट्रिक टनसम्म पुग्ने देखिन्छ। पहिलाको तुलनामा केही पकेट क्षेत्रमा क्षेत्रफल घटे पनि पछिल्लो समय एकाइ बोटको उत्पादकत्व बढेको कृषकहरूले बताएका छन्।
कृषकहरूले सुन्तला घरबाटै तथा आफ्नै बगैंचाबाट बिक्री गर्दा उचित मूल्य पाउन थालेका छन्। यस वर्ष पोखरामा मात्रै करिब १० करोड रुपैयाँ बराबरको सुन्तलाको कारोबार हुने अनुमान गरिएको छ।

उत्पादकलाई उपभोक्तासँग प्रत्यक्ष जोड्ने उद्देश्यले पोखरा–२१ मा सुन्तला महोत्सव आयोजना गर्ने तयारी भइरहेको महानगरपालिकाले जनाएको छ। महोत्सवले स्थानीय उत्पादनको प्रवर्द्धनसँगै कृषकको आम्दानी बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सबैभन्दा सकारात्मक पक्ष भनेको कृषकहरूले सुन्तला आफ्नै बगैंचाबाट, घरमै बसेर बिक्री गर्दा पनि राम्रो मूल्य पाउन थालेका छन्। बिचौलिया घट्दा कृषकको आम्दानी बढेको छ भने उपभोक्ताले पनि ताजा र गुणस्तरीय सुन्तला पाउन थालेका छन्।

महोत्सवमार्फत उत्पादक–उपभोक्ता जोड्ने प्रयास
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्दै कृषक र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने उद्देश्यले पोखरा–२१ मा सुन्तला महोत्सव आयोजना गर्ने तयारी भइरहेको छ। महोत्सवले सुन्तलाको बजार विस्तार मात्र होइन, पोखरालाई कृषि पर्यटनसँग जोड्ने अवसर पनि सिर्जना गर्ने अपेक्षा गरिएको छ।

सुन्तला महाेत्सवलाइ सफल पार्न आज वडा कार्यालयमा बसेकाे  सर्वदलीय बैठकमा राजनीतिक दल, विभिन्न संघसंस्था र वडाबासीले‌ आफ्नाे साथ सहयाेग रहने  प्रतिवद्धता जनाएकाे वडा नम्वर २१ का वडा अध्यक्ष दीपक सुवेदीले जानकारी दिए ।

कृषकहरू भन्छन्— सुन्तला अब केवल फल मात्र होइन, आर्थिक समृद्धिको आधार बन्दै गएको छ। सही नीति, प्रविधि र बजार व्यवस्थापन भए पोखराको सुन्तलाले अझ ठूलो बजार पाउने विश्वास उनीहरूमा छ।

पोखराको पहिचान ताल–पर्यटनसँगै अब सुन्तला खेती र स्थानीय उत्पादनसँग पनि जोडिँदै गएको छ। डाँडामा झुन्डिएका सुन्तलाका लटरम्म बोटहरूले आज पोखराको ग्रामीण अर्थतन्त्रमा नयाँ मिठास थपिरहेका छन्।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...