फागुन २५ गते रास्वपाकाे बहुमतकाे‌ सरकार‌ गठन हुन्छ :उपसभापति‌ वाग्ले

एकराज गिरी /पोखरा, गण्डकी — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गण्डकी प्रदेशस्तरीय भेटघाट तथा बृहत पार्टी प्रवेश कार्यक्रम पोखरा प्रदर्शनी केन्द्रमा सम्पन्न गरेको छ। कार्यक्रममा रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेले फागुन २१ गते निर्वाचन हुने र २५ गते रास्वपाको एकल बहुमतको सरकार बन्ने दाबी गरे।
उनले स्पष्ट बहुमत प्राप्त भए सरकार गठन भएको पाँच दिनभित्र ५० वटा नीतिगत निर्णय गर्ने प्रतिबद्धता जनाए।

“सुशासन र सुधारका लागि संख्या आवश्यक छ, १५१ को बहुमतले मात्रै शासकीय सुधारमा प्रहार गर्न सकिन्छ,” वाग्लेले भने, “बहुमत पाएपछि देशलाई सुशासन र आर्थिक समृद्धितर्फ लैजान्छौँ।”

डा. वाग्लेले कुशासन र भ्रष्टाचारका कारण देशको अर्थतन्त्र ६५ खर्ब रुपैयाँमा रुमलिएको उल्लेख गर्दै दिगो आर्थिक वृद्धिका लागि असल नियत र इमानदार नेतृत्व आवश्यक रहेको बताए। उनले जेन–जी आन्दोलनले कुशासन र भ्रष्टाचारविरुद्ध महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै सबैलाई जोड्ने साझा लक्ष्यसहित अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले जनतालाई हेप्ने प्रवृत्तिकै कारण रास्वपाको जन्म भएको बताए। उनले कास्की जिल्लामा तीन सिट जित्ने दाबी गर्दै भ्रष्टाचार र नातावाद खारेज गरिने स्पष्ट पारे। “रास्वपा भिजन र नीतिका आधारमा अघि बढ्छ, घण्टी चुनाव चिन्ह मात्रै होइन, यो परिवर्तनको प्रतीक हो,” उनले भने।

रास्वपाका प्रवक्ता मनिष झाले पार्टी अनुशासनमा जोड दिँदै मिशन पूरा भएपछि मात्रै उत्सव मनाइने बताए। पूर्व सांसद शिव नेपालीले कसैको विरोधका लागि होइन, देश निर्माणका लागि राजनीति गरिएको स्पष्ट पारे। “बहुमत दिनुहोस्, जनताको पक्षमा काम गरेर देखाउँछौँ,” उनले भने।

कार्यक्रममा समिक्षा बस्नेतले रूपान्तरण भाषणमा होइन, व्यवहारमा देखिनुपर्नेमा जोड दिइन्। “हामी सिष्टमले काम गर्ने देश बनाउन चाहन्छौँ, कामले नै सुशासन र भ्रष्टाचारविरुद्धको प्रतिबद्धता पुष्टि गर्नुपर्छ,” उनको भनाइ थियो।

नेताहरूले फागुन २१ सम्म भाषण र त्यसपछि काम मात्रै हुने दाबी गर्दै सुशासन र भ्रष्टाचारविरुद्ध घण्टी चिन्हमा बहुमत दिन आग्रह गरेका छन्।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...