पोखरा । पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले महिलालाई आत्मनिर्भर बनाउने कार्य सजिलो नभए पनि आयआर्जन तथा उद्यमशीलतासँग जोडिनु अनिवार्य रहेको बताएकी छन्।

महिला उद्यमी संघ नेपाल, कास्कीको १०औँ वार्षिक साधारण सभा तथा छैटौँ अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै उनले संघीय सरकारले ल्याउने योजनामा पोखरा महानगरपालिका हातेमालो गरेर अघि बढ्न तयार रहेको स्पष्ट पारिन्।
उपप्रमुख गुरुङले महिलालाई स्थानीय बजारसँग मात्र होइन, अन्तर्राष्ट्रिय बजारसम्म पहुँच पुर्याउने गरी उद्यमशीलतामा जोड्नुपर्ने आवश्यकता औँल्याइन्। उनले कानुन र अधिकार बनेका भए पनि तल्लो तहका महिलासम्म ती जानकारी नपुग्न सक्ने भन्दै सचेत वर्गले जानकारी गराउने दायित्व र जिम्मेवारी लिनुपर्नेमा जोड दिइन्। महिलालाई आत्मनिर्भर बनाउन महानगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी पनि उनले दिइन्।
कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका पराजुलीले विगतमा अग्रजहरूले कठिन परिस्थितिको सामना गर्दै संस्थालाई यहाँसम्म ल्याएको उल्लेख गरिन्। आर्थिक रूपमा सक्षम नभएसम्म महिला अघि बढ्न नसक्ने बताउँदै उनले अब महिलाहरू माग्ने होइन, दिने अवस्थामा पुग्नुपर्ने धारणा राखिन्। समाज र परिवारलाई सक्षम बनाउन आयआर्जनसँग जोडिनुपर्नेमा पनि उनले जोड दिइन्।
महिला उद्यमी संघ नेपाल कास्कीका महासचिव बालकुमारी गुरुङले सञ्चालन गरेको कार्यक्रममा संस्थापक अध्यक्ष मिना गुरुङ, लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष सम्मानित जानुका पराजुली, पोखरा रत्नबाट सम्मानित रामकली खड्का, संघका सल्लाहकार मिना गुरुङ र ठाकुर बराल, साथै पत्रकार सन्देश श्रेष्ठ र अनिसा श्रेष्ठलाई हार्दिक बधाईसहित सम्मान गरिएको थियो।
कार्यक्रममा महिला उद्यमी संघ नेपाल स्याङ्जा जिल्ला अध्यक्ष चन्द्रकला राना, घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष भानु भण्डारी, थोक व्यवसायी संघकी अध्यक्ष उषा तिमिल्सिना, उपाध्यक्ष एलिना बराल, व्यवसाय प्रवर्द्धन केन्द्रका प्रमुख नवराज अधिकारी लगायतले बाेलेकाे थिए ।
उदघाटन महिला उद्यमी संघ नेपाल कास्कीका अध्यक्ष शारदा बराल ‘सरु’ बरालकाे अध्यक्षतामा भएकाे थियो। अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।