कलाकार राजु मास्टरद्वारा पोखरा–३३ पुडिटारमा फोहाेर फाल्न नदिन आन्दोलनमा सहभागी हुन आह्वान

एकराज गिरी/पाेखरा,पुस २९ गते ।राजु मास्टर नामबाट चर्चित कलाकार राजु पौडेलले सामाजिक सञ्जाल फेसबुकमार्फत पोखरा महानगरपालिका–३३ पुडिटारमा फोहर फाल्न नदिन भइरहेको आन्दोलनमा सहभागी हुन सबैलाई आह्वान गरेका छन्।


आफ्नो जन्मथलो पुडिटारबाट नै कलाकारी यात्रा सुरु गरेको उल्लेख गर्दै कलाकार पौडेलले भने, “मेरो गाउँ पल्ला पुडिटार, जहाँबाट मैले कलाकारीता सुरु गरेँ। आज त्यही गाउँ आपतमा परेको छ।”

 

उनले यस विषयमा सुरुमा हल्ला मात्र सुनेको तर अहिले वास्तविक अवस्था बुझेपछि गम्भीर बनेको बताए। “पहिला वास्तविक कुरा मलाई थाहा थिएन, तर अहिले बुझ्दै छु। मेरा बुवाआमा, दाजुभाइ सबै आन्दोलनमा हुनुहुन्छ,” उनले भने।

 

कलाकार पौडेलले आफू पनि सम्भव भएसम्म आन्दोलनमा प्रत्यक्ष सहभागी हुने प्रतिबद्धता जनाउँदै भने, “पुडिटारमा हुनुहुने जति जना हुनुहुन्छ, सबै आन्दोलनमा हुनुहुन्छ। हामी सबैले साथ दिनुपर्छ।”
उनले पुडिटार आसपासका लामेआहाल, कोत्रेसाइड, नर्सरी माथि भञ्ज्याङ लगायतका गाउँहरू तथा स्वदेश–विदेशमा रहेका सम्पूर्ण पुडिबासीलाई आ–आफ्नो स्थानबाट आवाज उठाउन आग्रह गरे।
यसैक्रममा उनले पोखरामा फोहर ल्याउने निर्णय गलत भएको भन्दै सामाजिक सञ्जालमा स्टाटस राखेको पनि बताए। “पोखराका मेयरको कुरा पनि सुनेँ, यो गलत हो भनेर स्टाटस राखेको आधा घण्टामै मलाई दुई–चारवटा धम्कीपूर्ण फोन आए,” उनले खुलासा गरे।

 

तर धम्कीबाट नडराउने स्पष्ट सन्देश दिँदै उनले भने, “डराउने बेला छैन। कुनै पनि हालतमा नडराई यसको सामना गर्नुपर्छ।”
अन्त्यमा उनले पुडिबासीलाई समयमै सचेत हुन आग्रह गर्दै भने, “फोहर आएपछि रोक्न सकिन्न, त्यसैले अहिल्यै गर्नुपर्छ।”

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...