कास्की । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा नेकपा (एमाले) ले उम्मेदवार हेरफेर गरेको भन्ने सामाजिक सञ्जालमा फैलिएको चर्चा असत्य भएको कास्की निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार कृष्णबहादुर थापाले स्पष्ट पारेका छन् ।

उनका अनुसार नेकपा (एमाले) को मिति २०८२/१०/३ गते बसेको सचिवालय बैठकको निर्णयअनुसार कास्की निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका लागि उनको नाम सर्वसम्मत रूपमा टुंगो लागिसकेको छ । “पार्टीको आधिकारिक स्रोत वा कुनै जिम्मेवार कमरेडबाट उम्मेदवार परिवर्तनसम्बन्धी कुनै जानकारी प्राप्त भएको छैन,” थापाले भने, “सामाजिक सञ्जालमा आएका सूचना सही हो भन्नेमा मलाई किंचित् पनि विश्वास छैन।”
थापाले जिल्ला पार्टी र क्षेत्रीय निर्वाचन समन्वय समितिले भोलि माघ ६ गते तय गरेको उम्मेदवार दर्ता कार्यक्रम यथावत् रहेको जनाउँदै उक्त कार्यक्रमलाई भव्य रूपमा सफल पार्न सबै नेता–कार्यकर्ता तथा समर्थकहरूलाई सहभागिताका लागि हार्दिक निमन्त्रणा गरेका छन् ।
उनले पार्टीको आधिकारिक निर्णय र संगठनात्मक अनुशासनप्रति प्रतिबद्ध रहँदै निर्वाचन अभियानलाई थप सशक्त बनाइने पनि बताए ।