निर्वाचनको परिणामपछि पार्टी गम्भीर परिस्थितिमा, पद त्याग गर्न तयार छु‌ : एमाले केन्द्रिय सदस्य थापा

कास्की, फागुन २५ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की संयाेजक कृष्ण थापाले हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को परिणामपछि पार्टी गम्भीर परिस्थितिमा पुगेको बताएका छन्।

थापाले सोमबार एक वक्तव्य जारी गर्दै फागुन २१ गते सम्पन्न निर्वाचनको परिणाम लगभग सार्वजनिक भइसकेको उल्लेख गर्दै प्राप्त नतिजाले पार्टीका लागि चुनौतीपूर्ण अवस्था सिर्जना गरेको बताएका हुन्।

 

उनले कास्की जिल्लाबाट एमालेका तर्फबाट चुनाव लडेका सूर्य चिन्हका उम्मेदवार तथा समानुपातिक तर्फ सूर्यमा मतदान गर्ने सम्पूर्ण मतदातालाई विशेष धन्यवाद दिएका छन्। साथै प्रतिकूल परिस्थिति र विभिन्न घेराबन्दीका बीच निर्वाचन परिचालनमा खटिएका संयोजक, सदस्य तथा विभिन्न तहका नेता–कार्यकर्तालाई पनि उनले आभार व्यक्त गरेका छन्।

 

थापाले कास्कीमा प्राप्त मतपरिणामले पार्टीको अवस्थाबारे गम्भीर आत्मसमिक्षा आवश्यक रहेको उल्लेख गरेका छन्। उनले पार्टीले इतिहासका विभिन्न कालखण्डमा अनेक उतार–चढाव पार गर्दै आएको स्मरण गर्दै अहिले पनि ठूलो चुनौतीको सामना गरिरहेको बताएका छन्।

 

“हामी ढलेको परिस्थितिमा छौँ तर मरेका छैनौँ,” उनले वक्तव्यमा भनेका छन्, “यो अवस्थाको तहगत र वस्तुगत आत्मसमिक्षा आवश्यक छ।”

 

कास्की संयोजकका रूपमा आफ्नो कुनै कमजोरी रहेको भए आत्मआलोचना गर्न तयार रहेको उनले बताएका छन्। साथै विगतका निर्वाचनमा आफूले नेतृत्व गरेको टोलीले उल्लेख्य सफलता हासिल गरेको स्मरण गराउँदै हालको परिणामपछि पार्टीले आवश्यक ठानेमा कास्की जिल्ला संयोजकको जिम्मेवारी मात्र होइन, केन्द्रीय समिति सदस्य पदसमेत त्याग गर्न तयार रहेको जानकारी दिएका छन्।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...