पाेखरा ।नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले शेरबहादुर तामाङ प्रति सार्वजनिक रुपमा टिप्पणी गर्दै आफूविरुद्ध अनावश्यक आरोप लगाइएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत बाँस्कोटाले आफूले राखेको मतका कारण तामाङले सार्वजनिक रुपमा आक्रमण गरेको आरोप लगाएका हुन्। उनले लेखेका छन् कि आफ्नो विचार राखेकै कारण “कोदोवारी फाँडेसरह” आफूमाथि जाइलागिएको छ।
बाँस्कोटाले आफूलाई अवसरवादी भन्दै लगाइएका आरोप अस्वीकार गर्दै तामाङलाई लक्षित गरी कटाक्ष गरेका छन्। उनले आफू तामाङजस्तो आफ्नो तथा श्रीमतीको पद प्राप्तिका लागि गुट बदल्ने वा पटक–पटक पार्टी फुटाउन पछि नपर्ने चरम अवसरवादी पात्र नभएको दाबी गरेका छन्।
साथै उनले २०३८ सालदेखि यताका राजनीतिक घटनाक्रम हेर्न आग्रह गर्दै इतिहासले नै सबै कुरा स्पष्ट पार्ने बताएका छन्। बाँस्कोटाको यो अभिव्यक्ति पार्टीभित्र देखिएको मतभेद र नेताहरूबीचको आरोप–प्रत्यारोपसँग जोडेर हेरिएको छ।