पाेखरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलक राम अधिकारीसहित तीन जनाविरुद्ध भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणको आरोपमा आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगका अनुसार एच.के. इन्टरप्राइजेज प्रा.लि.सँग सम्बन्धित राजस्व चुहावटसम्बन्धी छानबिन तथा अन्य कसुरबाट बचाइदिने सहजीकरणका लागि अधिकारीले घुस लिएको उजुरी परेपछि अनुसन्धान सुरु गरिएको थियो। अनुसन्धानका क्रममा अधिकारीले उक्त कम्पनीका सञ्चालक श्रीकृष्ण श्रेष्ठबाट ७० लाख रुपैयाँ घुस लिएको पुष्टि भएको आयोगले जनाएको छ।

प्राप्त घुस रकमलाई वैध देखाउन अधिकारीले विकास चापागाई, देवेन्द्र केसी र रविन्द्र लामिछानेसँग मिलेमतो गरी विभिन्न बैंक खातामार्फत रकम तहिकरण गरेको आरोप छ। सो रकम ग्लोबल आइएमई बैंक, लुम्बिनी विकास बैंक र लक्ष्मी सनराइज बैंकलगायतका बैंक तथा वित्तीय संस्थामा जम्मा गरी घुसको स्वरूप परिवर्तन गरिएको आरोपपत्रमा उल्लेख छ।
अनुसन्धानबाट उक्त रकम प्रयोग गरी भक्तपुरको थिमी नगरपालिकास्थित दिव्यश्वरी आयोजनाभित्र रहेको कित्ता नम्बर ९९८ को १६४.१४ वर्गमिटर जग्गा खरिद गरिएको तथा देवेन्द्र केसीसमेत सञ्चालक रहेको द कुटी रिसोर्टको कर्जा भुक्तानीमा समेत प्रयोग गरिएको तथ्य खुलेको आयोगले जनाएको छ।
यस घटनामा अधिकारीसहित पोखरास्थित द कुटी रिसोर्टका सञ्चालक देवेन्द्र केसी र बाँकेको नेपालगञ्ज–२० बस्ने श्रीकृष्ण श्रेष्ठविरुद्ध भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ।
आयोगले अदालतमा दायर गरेको मुद्दामा प्रतिवादीहरूमाथि गैरकानुनी रूपमा आर्जित सम्पत्तिको छानबिन गरी कानुनअनुसार कारबाही गर्न माग गरेको छ।