पाेखरा ।सफल न्युज डट कमका कार्यकारी सम्पादक एकराज गिरीलाइ स्वर्गीय जगन्नाथ सिग्देल स्मृति पत्रकारिता पुरस्कार–२०८२” बाट पत्रकार पुरस्कृत गरिने भएकाे छ । पत्रकार महासंघ कास्की शाखाले आफ्नो ७१औँ स्थापना दिवसको अवसरमा उक्त पुरस्कारबाट गिरीलाइ पुरस्कृत गर्ने भएकाे हाे ।

चैत १६ गते आयोजना हुने कार्यक्रममा शाखाले विभिन्न विधामा योगदान पुर्याएका पत्रकारहरुलाई सम्मान गर्ने तयारी गरेको हो।
यस अवसरमा “स्वर्गीय जगन्नाथ सिग्देल स्मृति पत्रकारिता पुरस्कार–२०८१” बाट पत्रकार फणिन्द्र अधिकारी (अकिञ्चन) लाई तथा “स्वर्गीय जगन्नाथ सिग्देल स्मृति पत्रकारिता पुरस्कार–२०८२” बाट पत्रकार एकराज गिरीलाई सम्मान गर्ने निर्णय गरिएको छ।
पुरस्कृत हुने पत्रकार एकराज गिरी लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहँदै आएका छन्। पत्रकार गिरीले २०६० सालदेखि पत्रकारिता सुरु गरेका हुन्। उनले पोखरा हटलाइन दैनिकबाट आफ्नो यात्रा सुरु गरी गोरखापत्र दैनिक, पोखरा एफएम, गोर्खाली रेडियो, हेडलाइन्स एफएम, सौर्य साप्ताहिक, पोखरा न्यूज डट कम, अनलाइन खबर लगायत विभिन्न सञ्चार माध्यममा कार्यअनुभव हासिल गरेका छन्।
त्यस्तै, उनी पोखरा महानगरपालिकाको उपप्रमुखको सचिवालयमा प्रेस संयोजकको रुपमा २०७४ देखि २०८१ पुससम्म कार्यरत रहेका थिए। हाल उनी सफल न्यूज डट कमका कार्यकारी सम्पादक तथा सफल न्यूज साप्ताहिकका प्रकाशक/सम्पादकका रुपमा क्रियाशील छन्।
पत्रकार गिरीले खोज पत्रकारिता, विकास पत्रकारिता, डिजिटल पत्रकारिता लगायतका विभिन्न तालिमहरु लिएका छन् भने नेपाल पत्रकार महासंघ कास्की, प्रेस चौतारी कास्की, खेलकुद पत्रकार मञ्च गण्डकी लगायतका संस्थामा विभिन्न जिम्मेवारी सम्हालिसकेका छन्। हाल उनी प्रेस क्लब गण्डकीका अध्यक्ष पनि हुन्।
पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएबापत गिरी सहारा खेलकुद पत्रकारिता पुरस्कार, पोखरा यातायात पत्रकारिता पुरस्कार लगायत विभिन्न सम्मानबाट समेत सम्मानित भइसकेका छन्।