पाेखरा। कास्की क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद खडगराज पौडेल शपथ ग्रहणका क्रममा भावुक बनेका छन्। शपथका शब्दहरू उच्चारण गरिरहँदा आफू केवल वर्तमान क्षणमा सीमित नभई इतिहासका अनेक तहहरूमा यात्रा गरिरहेको अनुभूति भएको उनले बताएका छन्।

उनले संसद्लाई त्यही ऐतिहासिक थलोको रूपमा सम्झेका छन्, जहाँ विगतमा बिश्वेश्वरप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, प्रदीप गिरी र मदन भण्डारी जस्ता नेताहरूले लोकतन्त्र, विचार र राजनीतिक चेतनालाई दिशा दिएका थिए। साथै, पछिल्लो पुस्ताका नेता रविन्द्र अधिकारी को योगदान पनि उनले स्मरण गरेका छन्।
सांसद पौडेलका अनुसार संसद् केवल संरचना नभई आशा, संघर्ष, आदर्श, असहमति, त्याग र विश्वासले बनेको जीवित स्मृति हो। “म कुनै नयाँ ठाउँमा आएको होइन, एउटा निरन्तरतामा प्रवेश गरेको हुँ,” उनले भने।
उनले आफ्नो पहिलो पुस्तक ‘पैताला’ प्रकाशनको क्षण सम्झँदै त्यतिबेला पनि आफू इतिहासको लामो श्रृंखलामा जोडिएको अनुभूति भएको बताए। संसद्मा शपथ लिँदा पनि त्यही भाव पुनः जागृत भएको उनको भनाइ छ।
सांसद पौडेलले संसद्मा आफ्नो उपस्थिति व्यक्तिगत उपलब्धिभन्दा बढी अघिल्ला पुस्ताले देखेका सपनाको निरन्तरता सम्हाल्ने जिम्मेवारीका रूपमा लिएको उल्लेख गरे। साथै, आफूलाई यस्तो अवसर प्रदान गर्ने कास्की–१ का मतदाताप्रति उनले आभार व्यक्त गरेका छन्।