पाेखरामा जनआन्दोलन, भूकम्प र जेनजी आन्दोलनको फोटो,विदेशीले‌ पनि हेरे

पोखरा, १३ वैशाख ।राष्ट्रिय फोटो पत्रकारिता दिवस २०८३ का अवसरमा नेपाल फोटो पत्रकार संघ, कास्कीले जनआन्दोलन, भूकम्प र जेनजी आन्दोलनको फोटो प्रदर्शन गरेको छ ।

पोखरा महानगरपालिका वडा नम्बर ३ को सहयोगमा संघले आइतबार पोखरा–३ नदिपुरस्थित कोर्टयार्डको प्रांगणमा फोटोमा ‘६२, ७२ र ८२’ फोटो प्रदर्शनी गरेको हो । नेपालमा पछिल्लो ३ दशक यता हरेक १०÷१० वर्षमा ठूला घटनालाई फोटोका माध्यमबाट प्रदर्शन गरिएको आयोजकले जनाएको छ । प्रदर्शनीमा २०६२÷०६३ को जनआन्दोल, २०७२ को भूकम्प र २०८२ मा भएको जेनजी आन्दोलनको फोटो राखिएको थियो ।
प्रदर्शनीको पोखरा ३ का वडाध्यक्ष प्रकाशमान उदासले उद्घाटन गरेका थिए ।

कार्यक्रममा उनले तस्बिर हेर्ने मात्र नभएर अनुभव गर्ने खालको हुनुपर्ने बताए । ‘फोटो केवल फ्रेम वा क्यानभासमा सजाउने चिज मात्र नभएर यो एउटा कला पनि हो । फोटो पत्रकारको एक क्लिकले इतिहास पनि बताउँछ,’ उनले भने, ‘तस्बिरहरुले समाजलाई जानकारी मात्र हैन् । महसुस पनि गराउँछ । तस्बिर हेर्दै गर्दा सपना पनि बुनिन्छ ।’ फोटो पत्रकारहरुको सिर्जनात्मक काममा वडाको सधैं साथ र सहयोग रहने उनले बताए ।


पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले अक्षर पढेर भन्दा पनि तस्बिर हेरेर धेरै विषय बुझ्न सकिने बताए । ‘फोटो पत्रकारहरुले जे देख्छ त्यही क्लिक गर्छ । कुनै बनावटी कुरा पनि हुदैंन्,’ उनले भने, ‘यस्तो खालको जनचेतनामूलक प्रदर्शनी अरु ठाउँमा पनि हुनुपर्छ ।’ फोटो पत्रकारको कार्यक्रममा सहकार्य गर्दै जाने उनले प्रतिवद्धता जनाए ।


कार्यक्रममा नेपाल पत्रकार महासंघ, कास्की अध्यक्ष माधव बराल, नेपाल पत्रकार महासंघका पूर्व उपाध्यक्ष गंगाधर पराजुलीलगायतले समाचारलाई थप विश्वसनीय बनाउन फोटो महत्वपूर्ण भूमिका हुने भएकाले फोटो पत्रकारहरु मेहनती, संघर्षशील र सिर्जनशील हुनुपर्ने बताएका थिए ।

 

फोटो पत्रकारिता दिवसका अवसरमा फोटो मार्फत जनआन्दोलन, भूकम्प र जेनजी आन्दोलनका बारेमा जानकारी दिने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको कार्यक्रम संयोजक संस्थाकी सहसचिव दुर्गा रानामगरले जानकारी दिइन् । ‘हामी फोटो पत्रकारहरुका लागि वैशाख १३ अर्थात फोटो पत्रकारिता दिवस अति नै महत्वपूर्ण छ । हामीले हरेक वर्ष विभिन्न कार्यक्रम गरी दिवस मनाउँदै आएका छौं,’ उनले भनीन्, ‘यो वर्ष पनि दिवसलाई ऐतिहासिक बनाउनका लागि ‘फोटोमा ६२,७२ र ८२’ शीर्षकको फोटो प्रदर्शनी गरेका हौं ।’

 

वि.सं १९८४ वैशाख १३ गते गोरखापत्रमा प्रथमपटक फोटो समाचार छापिएको थियो । विरगञ्जकी एक महिलाले चर्खाबाट धागो कात्दै गरेको फोटो गोरखापत्रमा प्रकासित भएको दिनको सम्झनामा नेपालका फोटो पत्रकारहरुले उक्त दिनलाई राष्ट्रिय फोटो पत्रकारिता दिवसको रुपमा मनाउँदै आएका छन् ।

 

बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म फोटो प्रदर्शन गरिएको संस्थाका अध्यक्ष राम गुरुङले जानकारी दिए । प्रदर्शनीमा कास्कीका फोटो पत्रकारहरुले कैद गरेका १ सय वटा फोटो राखिएको थियो ।

 

प्रदर्शनीमार्फत नयाँ पुस्तालाई देशले पार गरेका संघर्ष र परिवर्तनका बारेमा जानकारी दिने प्रयास गरिएको उनले सुनाए । साथै, विभिन्न समयमा भएका घटना एउटै थलोमा हेर्न पाउनुलाई संस्थाले इतिहासको जीवन्त दस्तावेज रुपमा लिएको छ ।

आगामी वर्ष पनि फोटो पत्रकारिता दिवस भव्य बनाउने क्रममा रचनात्मक कार्यक्रम गर्दै जाने अध्यक्ष गुरुङले सुनाए ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...