पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले फुटपाथमा पार्किङ गरी सर्वसाधारणलाई आवतजावतमा अवरोध पुर्याउने सवारी साधनमाथि कारबाही अभियानलाई तीव्र बनाएको छ।

जिल्ला प्रहरी कार्यालय कास्की, जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की तथा पोखरा महानगरपालिकाको नगर प्रहरीको संयुक्त टोलीले पोखराका विभिन्न क्षेत्रमा अनुगमन तथा कारबाही गरेको हो।
प्रहरीका अनुसार पोखरा महानगरपालिका अन्तर्गत सभागृहचोक, न्यूरोड, चिप्लेढुंगा, महेन्द्रपुल, पालिखेचोक, नयाँबजार र पृथ्वीचोक क्षेत्रमा फुटपाथ अतिक्रमण गरी पार्किङ गरिएका सवारी साधनमाथि कारबाही गरिएको थियो।
अभियानका क्रममा १७५ वटा सवारी साधनलाई ‘अन द स्पट’ कारबाही गरिएको प्रहरीले जनाएको छ। साथै ६८ वटा दुई पाङ्ग्रे सवारी साधनलाई नियन्त्रणमा लिई आवश्यक प्रक्रिया अघि बढाइएको छ।
प्रहरीले “फुटपाथ गाडीका लागि होइन, मानिसका लागि हो। पैदलयात्रीको अधिकारको सम्मान गरौं, फुटपाथमा पार्किङ नगरौं” भन्ने सन्देशसहित अभियान जारी रहने जनाएको छ।